राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार पनि प्रतिनिधि सभामा विरोध जारी राख्दै बैठक अवरुद्ध गरेको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको उत्तर दिने कार्यसूची रहेको भए पनि रास्वपाले राप्रपासँग मिलेर सुरुमै विरोध जनाएको हो।
रास्वपाका सांसदहरू आज कालो पोशाकमा निलो स्कार्फसहित संसदमा उपस्थिति भएका थिए। यसरी उनीहरूले विरोधको नयाँ शैली अपनाएका छन्।
रास्वपाको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपछि बैठकमा बजेटमाथिको छलफल सुरु गरिएको थियो।
रास्वपा र राप्रपा दुबैले संसद बैठक बहिष्कार गरी बाहिर निस्किएर आफ्नो धारणा सार्वजनिक रूपमा राखेका छन्।
रास्वपाकी सांसद सोबिता गौतमले आफूहरू प्रधानमन्त्री ओलीलाई सुनाउनकै लागि उभिएको बताउँदै, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन आवश्यक रहेको अडान दोहोर्याइन्। उनले रास्वपाले वेल घेराउ, नाराबाजी र विभिन्न शैलीमा निरन्तर विरोध गरिरहेको उल्लेख गरिन्।
उनको भनाइमा, संसदमा कुनै सांसदले असहमति जनाउँदा त्यसलाई सुन्ने वातावरण बनाइनुपर्छ, किनकि प्रत्येक सांसद आफ्ना मतदाताको प्रतिनिधि हुन्।
गौतमले संसदमा आफूहरूको आवाज बारम्बार अवरोध गरिएको आरोप लगाउँदै, “हामीले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेका थियौं। उहाँ प्रमुख कार्यकारी हो। उहाँले सुन्नुपर्छ भन्ने हाम्रो माग थियो। तर, हामीलाई समय नै दिइएन,” भनिन्।
रास्वापाले पटक–पटक सदनमा आवाज उठाउँदा पनि बेवास्ता भएको भन्दै आज सदन नै बहिष्कार गर्नुपरेको बताएको छ। “जब संसदले हाम्रो कुरा सुन्दैन, तब हामीसँग जनतामा जानेबाहेक विकल्प हुँदैन,” गौतमले स्पष्ट पारिन्।
रास्वपा सांसदको विरोधकाबीच, संसदको बैठक अहिले पनि जारी छ र आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेकाे छ।