‘हाम्रा कुरा राख्न खोज्यौँ, प्रधानमन्त्री नसुनी हिँड्नुभयो’ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् ।

आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ ।”

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोधस्वरूप सङ्केत मानिन्छ ।

आजको बै‍ठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्का प्रश्नमा उत्तर दिने कार्यसूची थियो। तर, रास्वपा र राप्रपाको निरन्तर अवरोधका कारण सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम कार्यूचीबाट हटाएका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१