पोखरामा अवैध सुनसहित दुई जना पक्राउ, डेढ करोड बराबरको गरगहना बरामद

पोखरामा अवैध रूपमा ल्याइएको झन्डै डेढ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले दिएको जानकारीअनुसार १ करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने सुनका गरगहनासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पुम्दीभुम्दीबाट बुटवलतर्फ गइरहेको माइक्रोबस जाँच गर्दा अवैध सुनसहित भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिकलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनासँग ८२ तोला १६ लाल सुनबाट बनेका विभिन्न गरगहना फेला परेका छन्। बरामद गरगहनामा सिक्री, औंठी, झुम्का, लकेट, जुली, पोते र मंगलसूत्र लगायत रहेका छन्, जसको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको छ।

उनीहरूबिच तीन वर्षअघि फेसबुकमार्फत सम्पर्क भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतका विभिन्न राज्यहरूमा सुनका गहना बिक्री गर्दै आएका कुलदिप सिंहले नेपालमा पनि कारोबार विस्तार गर्ने योजना बनाएका थिए।

प्रहरीका अनुसार कुलदिप सिंह अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट गरगहना ल्याएर नेपालमा विक्री गर्न आएका थिए। साथमा रहेका रामबहादुर बिकले विक्रीबाट केही लाभांश पाउने सहमतिमा साथ दिएको स्वीकारेका छन्।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१