राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रममार्फत रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उक्त सहयोग घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै अर्यालले पार्टी स्थापनाको सुरुवातदेखि नै देश–विदेशमा रहेका नेपालीहरूबाट प्राप्त भौतिक तथा वैचारिक समर्थनप्रति आभार व्यक्त गर्दै सूचनाको सेतु बनेका सञ्चारकर्मीहरूप्रति पनि धन्यवाद दिए।
उनले भने, “हामीलाई निरन्तर साथ दिनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। यसै अवसरमा केही समयअघि निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ।”
अर्यालले पार्टीप्रति आस्था राख्ने नागरिक र सूचना सम्प्रेषणमा योगदान दिने सम्पूर्ण सञ्चार माध्यमहरूप्रति कृतज्ञता प्रकट गरे।