राजेन्द्र पाण्डेको दाबी : ‘सही छानबिन भए पूर्वप्रधानमन्त्रीहरू डिल्लीबजार जेलमै पुग्नेछन्’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताएका छन् ।

पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सही तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताएका हुन् ।

‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टि-स्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस् । यसको लर्को छ । यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौँ भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौँ । पाउरोटी लिएरै जान पाउँछौँ,’ उनले भने ।

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको वरिष्ठ उपाध्यक्ष पाण्डेले दाबी गरे । उस्तै खालको दुई कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उनको जिकिर छ ।

‘ललिता निवास प्रकरणमा के निर्णय गरिएको पाइयो भने यो नीतिगत निर्णय हो । सरकारले नीतिगत निर्णय गर्न पाउँछ । नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन । त्यसकारण हामीले केही गर्न पर्दैन । गर्नुपर्ने भए सरकारले गर्नु भनेर निर्णय गरेको छ,’ उनले भने, ‘त्यस्तै खालको कुरामा एउटामा नीतिगत निर्णय हुने र अर्कोमा नीतिगत निर्णय नहुने जुन कुरा छ । यसलाई पूर्वाग्रही पूर्ण छ भनेर हामीले भनेका छौँ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१