काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसप्रति नेकपा (एमाले) का सांसद सूर्य थापाले आक्रोश पोखेका छन् ।
आइतबार बजेटमाथिको छलफलका क्रममा सांसद थापा काँग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहप्रति आक्रोश पोखेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री नै फेर्न आग्रह गरे । ‘को-को मन्त्रीले संयुक्त सरकार हो भनेर हेक्का राखेर काम गर्नुपर्ने हो । यदि त्यो हुन्न भने प्रधानमन्त्रीज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ’ उनले भने ।
उनले अर्को वर्षसम्म अहिलेका सरकारका मन्त्रीहरू नरहन सक्ने समेत बताए । सिंहले आफ्ना बुवा गणेशमानको निष्ठालाई समेत ख्याल नगरेर बजेटमा बेइमानी गरेको थापाको आरोप छ । ‘सहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग मन्त्रालय बनेको छ । जनताको पक्षमा ध्यान छैन । प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनभयो । हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन’ थापाले भने ।