काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौँ सम्पर्क समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई उक्त आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले आफूहरूलाई विश्वास नगर्ने थापाको भनाइ थियो ।
‘पार्टीबाट यो प्रस्ताव नै पारित गरौँ भन्ने मेरो प्रस्ताव छ । कि २०४६ सालको जनआन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको छ,’ थापाले भने, ‘काँग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो जोले जिम्मेवारी लिएका छौँ । बितेका वर्षहरूको एउटा शक्तिशाली छानबिन आयोग बनाऔँ । देशले पत्याएको मान्छे छानौँ ।’
थापाले अहिलेका पुस्ताहरूको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरूबीच उपस्थित हुन नसक्ने बताए । ‘कुनै पार्टीको भागबन्डामा नबसेका मान्छेलाई त्यो समितिमा राखौँ । त्यो मान्छेलाई ०४६ सालपछिका काम गरेका, जिम्मा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गर्न लगाऔँ,’ थापाले भने, ‘काँग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला ।
जो परे पनि हामीले मान्छौँ भनेर हामीले आँट गर्यौँ भने मात्रै अबको जेनेरेसनले तिमिहरूको कुरा सुन्छौँ भन्छ । ’ थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको पनि बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरूको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।