काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरण अब केवल तत्कालीन उपायबाट नभई दीर्घकालीन रूपमा समाधान हुने स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गम्भीर ढंगले समस्या समाधानतर्फ अग्रसर भएको बताएका हुन्।
उनका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा विभिन्न सम्बन्धित मन्त्रालयका सहसचिवहरू समावेश हुनेछन्।
गृहमन्त्री लेखकले समितिले तत्कालीन र दीर्घकालीन उपायहरूबारे सुझाव दिने र आवश्यक परेमा कानुनी तथा नीतिगत सुधारको मस्यौदा समेत तयार गर्ने जानकारी दिए। उनले समितिका सिफारिसहरू सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए।