डा. मुकुल ढकाल आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदमा कायम राख्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
उनले निर्वाचन आयोगको अभिलेखमा आफूलाई महामन्त्रीका रूपमा कायम राख्न र पार्टीभित्र पनि यही हैसियतमा काम गर्न दिनुपर्ने माग गर्दै रिट दायर गरेका हुन्।
न्यायाधीश कुमार रेग्मीको इजलासमा अहिले उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ भइरहेको छ।
रास्वपाबाट महामन्त्री र केन्द्रीय सदस्य पदबाट निष्कासित भएका ढकालले पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरे पनि निर्वाचन आयोगको अभिलेखमा अझै पनि आफू नै महामन्त्री र प्रवक्ता रहेको भन्दै सो विवरण कायम राख्नुपर्ने मागसहित अदालत पुगेको बताएका छन्।
तर, सर्वोच्च अदालतको वेबसाइटमा भने निर्वाचन आयोग प्रतिवादीका रूपमा उल्लेख नभएको देखिन्छ। ढकालले रास्वपा, पार्टीको केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने (जो अहिले कारागारमा छन्), नव नियुक्त महामन्त्री बुर्लाकोटी र प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन्।
यसअघि निर्वाचन आयोगले ढकालकै नाममा पत्र पठाएर उनी नै रास्वपाका आधिकारिक महामन्त्री रहेको उल्लेख गरेको थियो। उक्त सूचना सार्वजनिक भएपछि रास्वपाले बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ता बनाएको घोषणा गरेको हो। साथै, पार्टीले आयोगमा नयाँ विवरण पनि पठाएको छ, जुन हालसम्म अद्यावधिक गरिएको छैन।