काठमाडौँ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को पछिल्लो बैठकले चार वटा प्रस्तावहरू स्वीकृत गरेको छ।
बैठकमा विभिन्न मन्त्रालयहरूबाट पेस गरिएका प्रस्तावहरूमध्ये उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदमा कायम मुकायमको जिम्मेवारी दिने निर्णय गरिएको छ।
दोस्रो निर्णय अनुसार कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कामकाज गर्न खटाउने सहमति पनि प्रदान गरिएको छ। यससँगै प्रतिष्ठानको प्रशासनिक काम कारबाहीलाई सहज बनाउने लक्ष्य राखिएको छ।
त्यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत वार्षिक कार्यक्रमको खर्च शीर्षक नं. ३७२११ को क्रियान्वयनका लागि संंकेत नं. ७.२.७.१ को रकम स्थानीय तहमा निकासा दिन अख्तियारी पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
चौथो निर्णयमा आमसञ्चार तथा सूचना प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा प्रशासन तथा विधायन समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।