• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि तय भएको छ। बैठकको सम्भावित कार्यसूचीमा बजेटसम्बन्धी विभिन्न विधेयक पारित गर्ने कार्यक्रम रहेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ संसदमा प्रस्तुत गर्दै पारित गराउने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ पनि आजको बैठकमा पारित गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।

संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम पनि रहेको छ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार नै स्पेन प्रस्थान गर्दै छन्।