राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा सुरु गरिएको हस्ताक्षर अभियानमा देशव्यापी समर्थन देखिएको छ।
कञ्चनपुरमा राउटे समुदायका मुखियासहित देशभरिका स्थानीयले ल्याप्चे लगाएर रविको पक्षमा ऐक्यबद्धता जनाएका छन्। रास्वपाको भनाइ अनुसार रविलाई जनप्रतिनिधिको रूपमा काम गर्न नदिई राज्यले अनावश्यक रूपमा दुःख दिइरहेको छ, जुन अस्वीकार्य छ।
अभियानमा समर्थन जनाउनको लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयं रास्वपा कार्यालय, बनस्थली पुगेर हस्ताक्षर गरेका छन्। यति मात्र होइन, एकजना क्रियापुत्रीसमेत क्रिया बसेकै अवस्थामा हस्ताक्षर गर्न कार्यालय पुगेपछि दृश्य थप भावुक बनेको थियो।
यस्तो कठिन र असहज परिस्थितिमा समेत जनसाधारणदेखि विशिष्ट व्यक्तिहरूको सहभागीता देखिनुले, रवि लामिछानेप्रति जनतामा सकारात्मक प्रभाव रहेको देखिन्छ ।
(रास्वपा) ले थुनामा रहेका आफ्ना सभापति रवि लामिछानेको पक्षमा शुक्रबार ऐक्यबद्धता हस्ताक्षर अभियान देशभर सुरु गरेको थियो। अभियानको सिलसिलामा रास्वपाले काठमाडौं उपत्यकाका १३ स्थानमा ऐक्यबद्धता बुथ स्थापना गरेको छ।
नयाँ बसपार्क, बल्खु, कोटेश्वर, पाटन दरबार स्क्वायर, चाबहिल, जावलाखेल, लगनखेल, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायत उपत्यकाका प्रमुख स्थानहरूमा बुथहरू स्थापना गरिएका छन्। ती बुथमार्फत सर्वसाधारणबाट हस्ताक्षर संकलन गरिँदैछ।
असार १४ गते देशका ७७ वटै जिल्लाका सदरमुकाममा हस्ताक्षर अभियान सञ्चालन गरियो । अब आइतबारबाट अभियान वडा तहसम्म विस्तार गरिने बुझिएको छ ।
रास्वपाले सभापति लामिछानेमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाइएको घटनालाई ‘राजनीतिक प्रतिशोध’को रूपमा लिँदै आएको छ। यही विषयमा जनसमर्थन देखाउन र प्रतिरोधको भाव प्रकट गर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको रास्वपा नेताहरूको भनाइ छ।
यसअघि, असार ७ गते पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा हिरासतमै रहेका सभापति लामिछानेले २० पृष्ठको दस्तावेज सार्वजनिक गर्दै आफूविरुद्ध अन्यायपूर्ण व्यवहार भइरहेको भन्दै ऐक्यबद्धता अभियानको घोषणा गरेका थिए। हाल उनी जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा छन्।
रास्वपाका अनुसार यो अभियान लामिछानेमाथि गरिएको ‘राजनीतिक षड्यन्त्र’ विरुद्ध देशव्यापी जनमत निर्माणको प्रयास हो।