झाँक्रीको अध्यक्ष नेपालप्रति कडा प्रहार: ‘मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन’

नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै तीव्र असन्तोष पोखेकी छन्। शनिबार लुम्बिनीमा आयोजित नेकपा एससम्बद्ध युवा संघ नेपालको प्रदेश भेलामा बोल्दै उनले “मरेको सिनोलाई काँधमा राखेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्ति दिएकी हुन्। उनको उक्त टिप्पणीले पार्टीभित्र व्यापक तरंग पैदा गरेको छ।

झाँक्रीले पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै चाँडो महाधिवेशन (अर्ली महाधिवेशन) को माग पनि राखिन्। अध्यक्ष नेपालविरुद्ध पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनले सोही विषयमा टिप्पणी गर्दै “अध्यक्षकै कारण पार्टी संकटमा परेको” दाबी गरिन्।

पार्टीकै उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा झाँक्रीले कडा शब्दमा नेतृत्वको आलोचना गरेपछि यसलाई बाहिर आउन नदिन प्रयास भयो । खिचिएका भिडियोहरु डिलिट गर्ने र गराउने कामहरु भएको बुझिएको छ । तर, युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिजुअल अपलोड गरिदिएकी छन् ।

झाँक्रीको अभिव्यक्तिले अध्यक्ष नेपाल समर्थक युवा नेताहरूलाई आक्रोशित बनाएको छ, जसको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ। विगत केही समयदेखि झाँक्री पार्टीभित्र असन्तुष्ट देखिएकी थिइन् भने केही समयअघिसम्म उनी एमाले फर्कन सक्ने चर्चा पनि चलेको थियो।

अध्यक्ष नेपालविरुद्धको थुनछेक बहसका क्रममा झाँक्री विशेष अदालतसमेत पुगेकी थिइन्। बहस सकिएपछि उनी इजलासमै पुगेर करिब चार घन्टा अध्यक्ष नेपालसँगै बसेकी थिइन् र उनी धरौटी बुझाएर रिहा भएपछि मात्र अदालतबाट बाहिरिएकी थिइन्।

झाँक्रीको आक्रामक अभिव्यक्तिको अंश यस्तो थियोः

पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१