
प्रतिनिधिसभाको बैठकमा आइतबार “को ठुलो चोर?” भन्ने अभिव्यक्तिसहित संसदमा तीव्र बहस र आरोप–प्रत्यारोप चलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच विशेष समयमा चर्काचर्की भएको हो।
शनिबारको बैठकमा बोल्दै सांसद खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्स कम्पनीमार्फत विगत १० वर्षदेखि हजारौं नेपालीलाई भिजिट भिसामा जापान पठाएर अर्बौं कमाइएको आरोप लगाएका थिए। उनले उक्त कम्पनीको स्वामित्वबारे प्रश्न उठाउँदै सांसद किनेर संसदमा प्रतिनिधित्व गरेको आरोप समेत लगाए।
त्यसको जवाफमा आइतबार सांसद अर्यालले आफू उक्त कम्पनीको मालिक भएको कुरा गर्वका साथ स्वीकार गरे। उनले आरोपको खण्डन गर्दै आफू व्यवसायी भएको र चोरेर नभई मेहनत गरेर जीवनयापन गरिरहेको बताए।
अर्यालले आफ्नो कम्पनीमार्फत पठाइएका कुनै व्यक्तिहरू विदेश गएर नफर्किएको उदाहरण नरहेको दाबी गर्दै निराधार आरोप संसदको रेकर्डबाट हटाउन सभामुख समक्ष रुलिङको माग गरे। साथै, प्रमाण प्रस्तुत गर्न चुनौती पनि दिए।
उनले विगत ३२ दिनदेखि भिजिट भिसा काण्डमा सरकारलाई जवाफदेही बनाउने प्रयासमा रहेको स्मरण गराउँदै विषयलाई अन्यत्र मोड्न र आफूहरूलाई लाञ्छना लगाउने काम गरिएको आरोप लगाए।
अर्याल पछी बोलेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ,आफुले शनिबार कसैको नाम नलिएको भएपनि , राश्वपा उपसभापती डोलप्रसाद अर्यालले आपत्ती जनाएपछी , चोरको खुट्टा काट्छु भन्दा खुट्टा तानेर आफैंले आफुमाथी राखेको आरोप पुष्टी गरेको बताएका छन् ।
यसबीच, रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध निरन्तर जारी राखेको छ भने राप्रपाले बैठक बहिष्कार गरेर बाहिरिएको छ। सरकारले बनाएको बैरागी नेतृत्वको छानबिन समितिलाई अस्वीकार गर्दै दुबै दल संसद अवरुद्ध गरिरहेका छन्।