• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

करार कर्मचारी स्थायीत्व विधेयकमा नआएकोमा सांसद ज्वालाको गुनासो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले निजामती सेवा विधेयकमाथि प्रतिनिधि सभामा छलफल गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले विधेयकमा धेरै महत्त्वपूर्ण विषय समेटिएको उल्लेख गर्दै यसलाई स्वागतयोग्य कदम भने। तर दरबन्दीभित्र कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीलाई प्रक्रिया पूरा गराई एकपटकका लागि स्थायी बनाउने व्यवस्था विधेयकमा समेटिन नसक्नु कमजोरी भएको भन्दै उनले गुनासो गरे।

“सरकारले सहुलियतसहित बिदा दिने वा कुनै रूपमा समायोजन गर्ने प्रावधान ल्याउनु आवश्यक थियो, तर त्यो हुन सकेन,” उनले भने। सांसद ज्वालाले ट्रेड युनियनको व्यवस्थापनमा पनि विधेयकले पर्याप्त ध्यान नदिएको टिप्पणी गरे।

विधेयक ढिलो गरी मात्र संसदमा आएकोप्रति व्यङ्ग्य गर्दै उनले भने, “ढिलो त भयो, तर छोरी भयो।” पटक-पटक संसदको कार्यसूचीबाट हटाइएपछि पनि अन्ततः विधेयक प्रस्तुत भएकोमा उनले सरकार र सम्बन्धित मन्त्रीलाई धन्यवाद दिए।

निजामती सेवा विधेयक कानुनको रूपमा परिणत हुँदै गएकोप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै उनले सम्पूर्ण निजामती कर्मचारी समुदायलाई बधाई समेत दिए।