• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

गायिका एलिना र समीक्षाले भेटे गृह मन्त्री

काठमाडौँ । सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका दुई गायिकाले गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन्।  गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेका हुन्

पछिल्लो समयमा आफूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका आफूहरूले भोगिरहेको समस्याबारे भेटघाट गरेर आफ्नो ध्यानाकर्षण गराएका हुन्।

गायिका चौहानले गृहमन्त्रीसँग भेटपछि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।

जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन्-ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म-सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।

यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ। ’उनीहरूले आफ्नो सामाजिक सञ्जालमा आएर जथाभाबी लेख्ने, अश्लील गाली गलौज गर्ने विरुद्ध पनि कारबाही गर्न माग गरेको जनाइएको छ।