काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालमा केही भएन भन्ने निराशा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै जानुपर्ने चुनौती रहेको टिप्पणी गरेकी छिन् ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘समृद्धिका साझा सवाल’ विषयक प्यानल छलफलका क्रममा गौतमले यस्तो बताएकी हुन् । परिषद्ले विभिन्न प्रदेशमा प्रादेशिक सम्मेलन सकेर काठमाडौँमा ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२’ पारेर ‘समृद्धिका साझा सवाल’ विषयक छलफल चलाएको थियो ।
सो छलफलमा भाग लिन पुगेकी सांसद गौतमले समृद्धिलाई आर्थिक रूपमा मात्रै लिन नहुने बताइन् । यसका लागि युवा पुस्ताले देश छाड्न नहुने सांसद गौतमको भनाइ थियो ।‘नेपालमा केही पनि भएन त भन्ने निराशा छ । त्यसलाई चिर्दै अघि बढ्नुको विकल्प छैन ।
हाम्रो पुस्ता भनेको अघिल्लो व्यवस्थाको थोरै कुरा स्मरणमा छ,’ सांसद गौतमले भनिन्, ‘तर, अधिकांश हामीले बुझ्ने भएपछि गणतन्त्रपछिको नेपाल हो । यो अन्तरालमा हामीले देखेको कुरा के हो र त्यसलाई कसरी मुल्यांकन गर्न सकिन्छ भन्ने कुरा हो ।’
जनतामा छाएको चरम असन्तुष्टिका कारण हाम्रा भौतिक पूर्वाधार समयमा नसकिनु र आर्थिक समृद्धि नदेख्नु नै रहेको उनले बताइन् ।उनले राष्ट्रिय गौरवका आयोजनाको विषयमा पनि जनतामाथि झुटा आशा मात्रै दिने काम राजनीतिक दल र नेतृत्वबाट भएको उनको भनाइ थियो । सांसद गौतमले देश छाडेर युवाहरू पलायन हुँदा कसले देश बनाउने ? भन्दै प्रश्न गरिन् ।
विशेष गरी उद्यमशीलता, रोजगारी, पर्यावरण, समानतामूलक समाज बनाउने लगायतका कुरा युवाले गर्नुपर्ने उनको भनाइ थियो । सांसद गौतमसहित एमाले सांसद पदम गिरी, काँग्रेस सांसद उदयशमशेर जबरा र माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध उक्त प्यानल छलफलमा सहभागी थिए ।