सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अभिमुखीकरण गोष्ठि सम्पन्न

बागलुङ । सहकारी रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकार्यमा एक दिने अभिमुखिकरण गोष्ठि बागलुङ बजारमा सम्पन्न भएको छ ।

सहकारी ऐन, नियम तथा सहकारी क्षेत्रका समसामयिक विषयवस्तुमा केन्द्रित उक्त गोष्ठिमा जिल्लामा क्रियाशील विभिन्न विषयका सहकारी संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापाले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले पछिल्लो समयमा बागलुङका इमेज र शिवशिखर सहकारी संस्थाका गतिविधिहरूले जिल्लाको समग्र सहकारी अभियानको उत्साहमा नकारात्मक असर परेको उल्लेख गरे । उनले सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरूले कानुन बमोजिम जिम्मेवारीपूर्वक कार्य गरेमा यस्ता समस्या नआउने स्पष्ट पार्दै यस्ता घटनाबाट अन्य सहकारी संस्थाहरूले पाठ सिक्नुपर्ने धारणा व्यक्त गरे । साथै, उनले सहकारी संस्थाहरू केवल बचत र ऋणको कारोबारमा सीमित नरही उत्पादनशील क्षेत्रमा लगानी बढाएर सहकारीको दिगोपनालाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा जिल्ला सहकारी संघ, बागलुङकी अध्यक्ष हुमा कुमारी जि.सी. र जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव अर्जुनप्रसाद कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।

गोष्ठिका क्रममा सहकारी रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले “सम्पत्ति शुद्धीकरण र सहकारी” सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले “सहकारी संस्थाको प्रभावकारितामा सञ्चालक तथा व्यवस्थापनको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गरे ।

त्यसैगरी, सहकारी ऐन, नियम तथा मापदण्डमा भएका परिमार्जनबारे सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत ईश्वरी ढकालले प्रस्तुति दिए भने गण्डकी प्रदेशका सहकारीको समग्र अवस्थाबारे तथ्याङ्क अधिकृत सुर्य आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिपछि छलफलको क्रममा सहभागीहरूले पछिल्लो समयमा सहकारी संस्थाहरूलाई लक्षित गरी जारी गरिएका विभिन्न मापदण्ड तथा नीतिहरू सहकारी ऐनसँग बाझिने खालका भएको र सहकारीको प्रवद्र्धनभन्दा पनि संस्थालाई सीमित दायरामा मात्र राख्ने प्रयास गरेको जस्ता विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।

सहभागीहरूद्वारा उठाइएका जिज्ञासाहरू र चिन्ताहरूको जवाफ दिंदै रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशका रजिष्ट्रार रिजालले सहकारी क्षेत्रको पारदर्शिता, दिगोपन र सुशासन सुनिश्चित गर्नका लागि मापदण्डहरू आवश्यक रहेको स्पष्ट पारे । उनले हालको बदलिँदो आर्थिक परिवेश, वित्तीय क्षेत्रको संवेदनशीलता, तथा सदस्यको हित संरक्षण गर्ने उद्देश्यले नियमनकारी निकायले केहि कडाइहरू ल्याउनु परेको बताए ।

रिजालले सहकारी संस्थाहरूले ऐन, नियम र निर्देशिकाको गहिरो अध्ययन गरी व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव पनि दिए । कार्यक्रमले सहभागी संस्थाहरूलाई कानुनी जानकारीसहित सहकारी प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने दिशामा मार्गदर्शन गरेको आयोजकको भनाइ छ । कार्यक्रममा जिल्लाका ४४ वटा सहकारी संस्थाका ८५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम रजिष्टार कार्यालयका रजिष्टार रिजालको अध्यक्षता, शाखा अधिकृत ईश्वरी ढकालको स्वागत र अधिकृत तुलसीप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१