• २०८३ असार ४
  • 2026 June 18, Thursday

आज बस्दै पाँच संसदीय समितिहरूको बैठक, यी विषयमा हुनेछ प्रमुख छलफल

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज बस्दैछ ।

बुधवार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र पूर्वाधार विकास समितिको बैठक तय भएको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन मस्यौदामाथि आन्तरिक छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै, बिहान ११ बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४४औँ बैठकमा नेपाल पर्यटन बोर्डको हालको अवस्था, कार्य प्रगति, चुनौती र आगामी योजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गरिनेछ ।

सिंहदरवारमा बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने भएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा समितिको कार्य प्रगतिलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा मध्य पहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुल निर्माणको विषयमा छलफल गरिनेछ ।