
जनकपुरमा ज्वाइँले ससुराको हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका-१५, कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमललाई आफ्नै ज्वाइँ ४८ वर्षीय बेचन महासेठले चक्कु प्रहार गरी हत्या गरेका हुन्।
जनकपुरधाम-२१, कुर्थाका बेचनले आज बिहान करिब पौने १० बजे बासुदेवलाई घरमै चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए। घटनाको कारण जग्गासम्बन्धी घरेलु विवाद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पेटमा चक्कु लागेर गम्भीर घाइते भएका विमललाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर उपचारको क्रममा बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरे।
घटना भएपछि बेचन फरार भएका छन् र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मृतक बासुदेवप्रसाद विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका भएको खुलेको छ।