• २०८३ असार ४
  • 2026 June 18, Thursday

कुलिङ पिरियड हेरफेर प्रकरणमा रास्वपाको माग: उच्चस्तरीय छानबिन समिति गठन होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधानमाथि भएको हेरफेरबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन विशेष समिति गठन गरिनुपर्ने माग गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च:मतिमा बसेको सचिवालय बैठकले संसदको सार्वभौम भूमिकामाथि प्रहार हुने गरी विधेयकको प्रावधान नै तलमाथि पार्न खोजिनुलाई अनदेखा गर्न नमिल्ने निष्कर्ष निकालेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘कुलिङ पिरियड प्रावधान हेरफेरमा सार्वभौम संसदमाथि प्रहार भएको छ। यसलाई अनदेखा गर्न मिल्दैन, यो प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन विशेष समिति बनाउनुपर्छ,’ उनले भने, ‘विधायकी अधिकारमाथि गम्भीर कुठाराघात भएको छ।’

यस्तै बैठकमा कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनबारे पनि छलफल गरेको उनले बताए। उपनिर्वाचनको सन्दर्भमा उम्मेदवार छनोट कार्यविधि बनाउने निर्णय भएको महामन्त्री बुर्लाकोटीले बताए।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकले कुलिङ पिरियडसम्बन्धी व्यवस्था राख्न राष्ट्रिय सभालाई आग्रह गर्ने र छानबिन समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको थियो।