• २०८३ असार ४
  • 2026 June 18, Thursday

पूर्वमन्त्री बद्री न्यौपानेको भ्रष्टाचार मुद्दामा सुनुवाइ आज

काठमाडौँ । पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै अख्तियारले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चालनका लागि सस्तो दरमा भाडामा दिएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

न्यौपानेसँगै कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी लगायतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।विशेष अदालतको फैसलामा चित्त नबुझाइ दुवै पक्ष सर्वोच्च अदालतमा पुनरावेदन लिएर गएका हुन् । यो मुद्दामा सर्वोच्च अदालतले पहिलो पटक सुनुवाइ गर्दैछ ।