डिपीमार्फत रविको सन्देश– समयले हिसाबकिताब गर्छ

काठमाडौं । रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेको सन्देश नागर्जुन नगर अधिवेशनमार्फत सार्वजनिक गरेका छन्।

नगर अधिवेशनलाई सम्बोधन गर्दै अर्यालले कारागारमा रहेका लामिछानेले पार्टी निर्माणमा विचलित नहुन कार्यकर्तालाई आग्रह गरेको बताए।

‘उहाँले कारागारबाट सन्देश पठाउनुभएको छ – पार्टी निर्माणको बाटोमा विचलित नहुनुहोस्। म कुनै गल्ती नगरे पनि जेलमा छु,’ अर्यालले लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘देश बनाउन, भ्रष्टाचार अन्त्य गर्न र सुशासन स्थापनाका लागि राजनीतिमा आएको हुँ। मेरो राजनीति कसैलाई पचेन, त्यसैले आज म जेलमा छु। तर यसको हिसाबकिताब समयले गर्छ।’

अर्यालले लामिछानेको विचार मात्र नभई रवि लामिछाने नै एक राजनीतिक दर्शन भएको दाबी गरे। ‘उहाँ कुनै व्यक्ति वा पार्टीको नेता मात्रै होइन, उहाँ एक विचार हो,’ उनले भने, ‘जसरी हामीले बैंकमा पैसा राख्दा ब्याज पाइन्छ, त्यसैगरी रविलाई कारागारमा राखेकाले सरकारले स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’

उनले सभापतिलाई अन्यायपूर्ण रूपमा कारागारमा राखिएको भन्दै त्यसको प्रतिकार पार्टीले गर्ने चेतावनी पनि दिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१