• २०८३ साउन ३
  • 2026 July 19, Sunday

मन्त्री घुस प्रकरणमा माओवादीको प्रश्न :प्रधानमन्त्रीको टुक्काले पुग्छ कि अनुसन्धान हुनुपर्छ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारका दुई मन्त्रीको अडियो प्रकरणबारे कडा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको घुस सम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद राईले सरकार किन मौन छ भनेर संसदमा प्रश्न गरिन्।

“प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको ‘म घुस लिँदिन, अरूलाई लिन दिन्न’ भन्ने टुक्काले मात्रै पुग्छ कि कानुनी र नैतिक जवाफदेही पनि आवश्यक छ?” भन्दै उनले थपिन्, “घुस डिल त केवल सामान्य प्रशासन मन्त्रीको मात्र नभएर प्रधानमन्त्रीको नैतिकताको सवाल पनि हो।”

राईले मालपोत कार्यालय र भूमि आयोग कास्कीमा भएको भनिएको सरुवा सेटिङ प्रकरण पनि उठाउँदै, यस्ता गम्भीर अडियोहरू सार्वजनिक भइरहँदा चुप लागेर बस्नु उपयुक्त नहुने बताइन्। उनले सभामुखसँग प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिन माग गरिन्।