बागमतीका चार मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । बागमती प्रदेशका चार जना मन्त्रीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा बुझाएका हुन् ।

चारै जना मन्त्रीले मुख्यमन्त्री तामाङलाई विद्युतीय माध्यमबाट राजीनामा पठाएका छन् । विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुले आजकै मितिबाट लागू हुनेगरी राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । राजीनामा दिएका चारै जना मन्त्री नेपाली कांग्रेसका हुन् ।

बागमतीका मुख्यमन्त्री तामाङ पनि कांग्रेसकै नेता हुन् । बागमतीमा कांग्रेसभित्रै मुख्यमन्त्री परिवर्तनको खेल भइरहेको बताइएको छ । सोही योजनाअनुसार चार मन्त्रीहरुले राजीनामा दिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले तामाङलाई मुख्यमन्त्रीबाट राजीनामा दिन आग्रह गरेकोमा उनले नमानेपछि मन्त्रीहरुले राजीनामा बुझाएको बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१