निमित्त प्रअको ग्याङ्गले गण्डकी कै पुरानो विद्यामन्दिर माबि भ्रस्टचार र कुशासान चक्रमा

  • गण्डकीको पुरानो बिद्यालय भ्रस्टचारको अखडा,झण्डै तिन करोडको हिनामिना
  • बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको श्री विद्यामन्दिर माध्यमिक विद्यालयमा व्यापक आर्थिक तथा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिन गर्न निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाई, बागलुङले अख्तियारको पोखरा कार्यालयबाट प्राप्त पत्रका आधारमा बागलुङ नगरपालिकालाई छानबिन गरी प्रतिवेदन पेश गर्न असार २४ गते पत्राचार गरेको हो।

    अख्तियारमा दर्ता भएको उजुरीमा विद्यालयका प्रधानाध्यापक छविरमण शर्मा रेग्मी, वडाध्यक्ष सनि के.सी. लगायत शिक्षक र कर्मचारीको मिलेमतोमा ‘हाम्रा आफ्नै छन्, सरकार हाम्रो छ’ भन्ने मानसिकतामा आर्थिक अपचलन, गैरकानूनी नियुक्ति र पदको दुरुपयोग गरेको गम्भीर आरोपहरू लगाइएको छ। इकाईले नगरपालिकालाई उक्त उजुरीको बुँदागत छानबिन गरी प्रमाणसहित २०८२ साउन ९ गतेभित्र प्रतिवेदन पेश गर्न भनेको छ।

    आर्थिक अपचलन र कोषको दुरुपयोग सम्बन्धी गम्भीर आरोप

    उजुरीमा आर्थिक अपचलनका एकपछि अर्को गम्भीर आरोप लगाइएको छ। पूर्व व्यवस्थापन समितिले जम्मा गरेको १ करोड ५० लाख रुपैयाँ बचत रकम र नेपाल सरकारबाट विज्ञान प्रवर्द्धनका लागि प्राप्त ४५ लाख रुपैयाँ प्रधानाध्यापक छविरमण रेग्मीले हिनामिना गरेको दाबी गरिएको छ। यसका साथै, विद्यालयका सटरको भाडा उठाएर व्यक्तिगत रूपमा खर्च गरेको, नक्कली बिल भरपाई बनाएर खाजा, छपाई र निर्माण जस्ता शीर्षकमा अस्वाभाविक खर्च देखाएको, र विद्यालय परिसरको बाँसको घारी र पुराना डेस्कबेन्च बिनाप्रक्रिया बेचेर रकम हिनामिना गरेको समेत आरोप छ। विद्यार्थीको खाजा, छात्रवृत्ति र पाठ्यपुस्तकको रकममा समेत अनियमितता गरेको, एडुटेक र राष्ट्रपति सुधार कार्यक्रमबाट बनेका कम्प्युटर ल्याबको सामानलाई अन्यत्र सारेर नयाँ विल बनाई रकम अपचलन गरेको र पूर्व प्र.अ. शान्तमणि ढकालको खाताबाट समेत चेक काटेर आर्थिक अपचलन गरिएको उजुरीमा उल्लेख छ।

    प्रशासनिक मनोमानी र गैरकानूनी कार्य

    आर्थिक विषयका साथै, विद्यालय प्रशासनमा चरम मनोमानी चलेको उजुरीमा उल्लेख छ। विद्यालय व्यवस्थापन समिति गठन नगरी प्रधानाध्यापक रेग्मी र वडाध्यक्ष के.सी.ले मिलेमतोमा विद्यार्थीको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेको, ६० वर्ष उमेर नाघेका कर्मचारीलाई गैरकानूनी रूपमा तलब खुवाएको र योग्यता नपुगेका शिक्षकलाई नियुक्ति दिएको जस्ता आरोपहरू छन्। प्रधानाध्यापक रेग्मीले आफैँले पूरा पिरियड नपढाएर पनि तलब भत्ता लिएको र आफ्नो पदको दुरुपयोग गरी ‘नि.प्र.अ.’ लेख्नुपर्नेमा ‘प्रधानाध्यापक’ लेखेर विभिन्न कार्यालयमा पत्र पठाउने गरेको बताइएको छ। उजुरीमा शिक्षक-कर्मचारीलाई विभेद र धम्की दिने गरेको, आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न दबाब दिएको र सरकारले तोकेको मापदण्डविपरीत विद्यालय हाताभित्रको क्यान्टिनबाट विद्यार्थीलाई गुणस्तरहीन खाजा खुवाएको समेत दाबी गरिएको छ।

    छानबिनमाथि नै शङ्का र थप संलग्नताको आरोप

    छानविनका लागि प्रक्रिया अगाडी बढेपनि उजुरीकर्ताले छानबिन प्रक्रियामाथि नै शङ्का व्यक्त गरेका छन्। यसअघि बागलुङ नगरपालिकाले पटकपटक छानबिन गरे पनि आर्थिक प्रलोभनमा परेर प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाइएको छ। यी सम्पूर्ण कार्यमा शिक्षा शाखाका कर्मचारी पुरन घर्ती मगर र दिपक शर्माको समेत प्रत्यक्ष संलग्नता रहेको बुझिएकोले उनीहरूमाथि पनि छानबिन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

     

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१