चार्टर्ड अकाउन्टेन्ट विद्यार्थी निर्वाचनमा ऐतिहासिक जित: सगुन क्षेत्रीसहितको टोलीले रचे नयाँ इतिहास

नेपाल चार्टर्ड अकाउन्टेन्ट विद्यार्थी संघ (एनकासा) को हालै सम्पन्न छैठौं निर्वाचनमा इतिहासकै सबैभन्दा धेरै मत ल्याएर विजयी हुने कीर्तिमान सिए क्याप-३ मा अध्ययनरत विद्यार्थी सगुन थापा क्षेत्रीले बनाएका छन्। थापा क्षेत्रीले ४५२ मत प्राप्त गर्दै दोब्बर भन्दा बढी मतान्तरले ऐतिहासिक जित दर्ता गरेका हुन्।

उनका साथै क्याप-३ बाट नवीन रावत र वसन्त शाही पनि भारी मतसहित विजयी भएका छन्। क्याप-३ मा कुल खसेको ६३७ मतमध्ये रावतले ४०० मत र शाहीले ४१२ मत प्राप्त गरेका हुन्। यी तीनै सदस्यले प्राप्त गरेको मत संख्या एनकासा निर्वाचनको इतिहासमै हालसम्मकै उच्च हो।

यसैतर्फ, क्याप-३ बाट चौथो स्थानमा रहेका निराजन कार्कीले २१६ मत प्राप्त गरे।

क्याप-२ बाट भने प्रविण कुमार शाह र अनिस भट्टराई विजयी भएका छन्। भट्टराईले २२५ मतसहित अग्रता कायम गरे भने शाहले २१६ मत प्राप्त गर्दै कार्यकारिणी सदस्यमा निर्वाचित भए।

यो निर्वाचनमार्फत क्याप-३ बाट ४ जना र क्याप-२ बाट २ जना गरी कुल ६ सदस्य निर्वाचित भएका छन्। बाँकी तीन सदस्य भने समानुपातिक प्रणालीमार्फत मनोनयन गरिनेछ।

अघिल्लो कार्यसमितिबाट सिफारिस गरिएका व्यक्तिहरूमध्येबाट आईक्यानले क्याप-१, क्याप-२ र क्याप-३ बाट एक-एक जना सदस्य मनोनयन गर्नेछ

नव-निर्वाचित सदस्यहरूको कार्यकाल अब दुई वर्षको रहनेछ।

यस निर्वाचनले एनकासाको इतिहासमा मतको दृष्टिकोणले नयाँ कीर्तिमान स्थापना गर्नुका साथै विद्यार्थी नेतृत्वप्रति बढ्दो विश्वास र सक्रिय सहभागिता देखाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१