
बुटवल । लुम्बिनी विकास कोषका कर्मचारीहरू विभिन्न माग राख्दै दुई हप्तादेखि आन्दोलनमा उत्रिएपछि कोषको कामकाज ठप्प भएको छ । साउन ८ गते कोष कर्मचारी युनियनले ४ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको छ ।
कोषका सबै कर्मचारी कामकाज ठप्प पारेर प्रधान कार्यालयको मुख्य गेटमा धर्ना दिइरहेका छन् । उनीहरूले तालाबन्दी समेत गरेका छन् । कर्मचारीले साउन ५ गते नै ज्ञापनपत्र बुझाएर विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए। साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरे ।
माग पूरा नभएपछि साउन १२ देखि कामकाज ठप्प गरेर कार्यालयमा तालाबन्दी गरेर उनीहरु धर्नामा बसेका हुन् । युनियनका कोषाध्यक्ष प्रकाश गुप्ताले १९ गतेसम्म पनि माग सुनुवाइ नभएपछि थप माग राखेर शान्तिपूर्ण आन्दोलन जारी राखेको रातोपाटीलाई जानकारी दिए ।
कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली– ०७९ संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग राखेका छन् । यसका साथै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग समेत उनीहरूले राखेका छन्।
आन्दोलनका कारण विकास कोषको काम पूर्ण रूपमा ठप्प भएको छ । मायादेवी मन्दिर लगायतमा पूजाको कार्यक्रम भने चलिरहेको छ । उनीहरूले पूजाको कार्यक्रममा अवरोध नगर्ने जनाएका छन् । लुम्बिनीमा दिनहुँ धर्ना, जुलुस र विरोधका कार्यक्रम भइरहेका बेला कोषका पदाधिकारीहरू भने काठमाडौँ पुगेका छन् । वैशाख २९ गते बुद्ध जयन्ती मनाएर राजधानी गएका कोषका उपाध्यक्ष ल्हारक्याल लामा काठमाडौँमै छन् ।
कोषाध्यक्ष ढुण्डिराज भट्टराई पनि वैशाख ३० गतेदेखि उपचारका लागि राजधानीमै छन्। कोषका सदस्यसचिवले साउन ५ गते राजीनामा दिएका थिए । अन्य उच्च तहका कर्मचारी पनि लुम्बिनीमा छैनन् । काठमाडौँमा रहेका लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले विकास कोषको कामकाज ठप्प रहेको बताए । उनले विकास कोषले भन्दा पनि मन्त्रालयले कर्मचारीका माग सम्बोधन गर्नसक्ने बताए । उनले मन्त्रालयबाट सहसचिवको नेतृत्वमा कर्मचारीका मागका विषयमा छलफल गर्न जाने तयारी भइरहेको समेत खुलाए ।