
काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार, बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।
यसअघि बोलाएर स्थगित भएको केन्द्रीय कमिटी बैठक भने अब नराखिने भएको छ ।‘केन्द्रीय कमिटी बैठक एक पटक बसिसक्यो, अब अर्को बस्ने सम्भावना छैन,’ उनले भने । विधान अधिवेशनको अन्य तयारी पनि चाँडै सक्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्न नसकिएको उनको भनाइ छ ।