
भारतीय पत्रिका द प्रिन्टले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तत्काल नहुने दाबी गरेको छ । आफ्नो अनलाइन संस्करणमा आज एक समाचार लेख्दै द प्रिन्टले प्रधानमन्त्री ओलीको पूर्वनिर्धारित भारत भ्रमणको सम्भावना कम रहेको दाबी गरेको हो ।
प्रधानमन्त्री ओली यही भदौ ३१ गते २ दिने भारत भ्रमणमा जाने तालिका छ । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भए पनि अहिलेसम्म भारत भ्रमण भने भएको छैन। भारतीय समकक्षी मोदीबाट अघिल्लो महिना मात्रै भारत भ्रमणको निम्तो पाएपछि भदौ अन्तिममा प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको थियो । तर द प्रिन्टले भने स्रोतलाई उद्धृत गर्दै ‘उपयुक्त समय’ नभएकाले भ्रमणको सम्भावना कम रहेको लेखेको हो । यद्यपि, पछिल्ला केही हप्ताहरूमा, विशेष गरी, लिपुलेकको मामिलामा नेपालको दाबीका कारण प्रधानमन्त्री ओलीको पूर्वनिर्धारित भ्रमणको समय ‘उपयुक्त’ नभएको पत्रिकाको सङ्केत छ ।
प्रधानमन्त्री ओलीले यसै साता चीनको तियाजिनमा आयोजित एससीओ शिखर सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा लिपुलेक नेपालको भूभाग भएको स्पष्ट गर्दै भारत–चीनले लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने तयारी प्रति आपत्ति जनाएका थिए । आसन्न भारत भ्रमणमा भारतसँग समेत सोही विषयमा कुरा उठाउने प्रधानमन्त्रीे ओलीको तयारी छ ।
द प्रिन्टको दाबीलाई लिएर भारत तथा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिइसकेको छैन ।