माओवादी केन्द्रद्वारा मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकमा उक्त विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन् ।उनले भने,‘स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयनका सन्दर्भमा बैठक केन्द्रीत थियो । एकतामा आएका कमरेडहरुको कार्यविभाजनको कुरा थियो, अभियानका कुराहरु पनि थिए, महिला सम्मेलनको बारेमा कुराकानी थियो ।’

यस्तै, बैठकमा पार्टीको आन्तरिक र बाह्य रुपमा सबै पक्षलाई समेटेर छलफल गर्न त्यसको मोडलहरु फिक्स गरेको र भदौ २१ गतेदखि सञ्चालन हुन लागेको मध्यपहाडी लोकमार्गको अभियानलाई प्रभावकारी बनाउने हिसाबमा छलफल भएको बताए ।उनले भने, ‘निर्णय भनेको अहिले बर्खाको समयमा ठूला ठूला सभाभन्दा पनि अन्तरक्रिया, अन्तर संवाद, पार्टीको आन्तरिक र बाह्य रुपमा सबै पक्षलाई समेटेर छलफल गर्दा ठिक हुन्छ भनेर त्यसको कार्यक्रमको मोडेलहरु फिक्स गरियो । यही २१ गतेदखि मध्यपहाडी लोकमार्गको अभियान सञ्चालन गर्दैछौ । यसलाई बढि प्रभावकारी बनाउने हिसाबमा छलफल भयो ।’

साथै, सरकारले जनताको कुरा नसुनेको, सुशासनको अवस्था कमजोर भएको, भ्रष्टाचार बढेको अवस्थामा सडक संघर्षको तयारी थाल्ने बारे पनि छलफल भएको उनको भनाई छ ।उनले भने, ‘स्थायी समितिले गरेका निर्णयहरुको सन्दर्भमा छलफल मात्रै भयो, पछि निर्णय गर्ने कुरा भएको छ । महिला सम्मेलनको बारेमा अध्यक्षले पनि कुरा राख्नुभयो । सरकारले जनताको कुरा नसुनेको, सुशासनको अवस्था पनि कमजोर छ । भ्रष्टाचार बढेको छ । यो अवस्थामा सडक संघर्षको तयारी थाल्नुपर्छ । त्यसमा रणनीतिक र तत्कालिक विषयलाई पनि लिएर जाने र जनमत सिर्जना गर्दै जाने कुरा पनि भएको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१