• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जेब्रा, पान्डा र पेङ्गुइनको रङ्ग किन ब्ल्याक एन्ड व्हाइट हुन्छ ?

विश्व जीव जगत् रङ्गीबिरङ्गी रूप, रौनक र सौन्दर्यले भरिएको छ। कतै रातो पखेटा भएका चराचुरुङ्गी, कतै हरियो छाला भएका सर्प, त कतै सुनौलो छाला भएका माछा । यस्ता रङ्गहरूले संसारलाई अझ रङ्गिन बनाएका छन् । तर यही रङ्गिन संसारभित्र केही यस्ता प्राणी पनि छन् जसले प्रकृतिको सामान्य नियमलाई समेत तोडेका छन्। तिनीहरूको पहिचान नै ‘ब्लायक एन्ड ह्वाइट’ अर्थात् कालो र सेतो रङको सीमामा सीमित छ। हेर्दा पनि सुन्दर लाग्ने त्यस्ता प्राणीमा प्रकृतिले सौन्दर्यसँगै विज्ञानको अवधारणा पनि मिसाएको छ। यी कालो र सेतो रङ्गमा रङ्गिएका यी जनावरहरू चीनका घना जङ्गलदेखि अफ्रिकाका विशाल मैदान र दक्षिण ध्रुवका टापुहरूसम्म भेटिन्छन्, जसको रङले नै उनीहरूको जीवन रक्षा गर्छ।

जस्तो कि जेब्रालाई हेरौँ। उसको शरीरमा देखिने काला–सेता धर्साहरू केवल सुन्दरताको लागि होइनन्, ती त उसको सुरक्षा ढाल हुन्। ब्रिस्टल विश्वविद्यालयका वैज्ञानिकहरूको अनुसन्धानले देखाएका छन् कि ती धर्साले जेब्रालाई हर्सफ्लाई जस्ता रगत चुस्ने परजीवीबाट जोगाउँछ। जब ती फ्लाईहरु धर्सायुक्त सतह नजिक पुग्छन्, उनीहरूको दृष्टि भ्रमित हुन्छ र दिशा हराउँछ। प्रकृतिले जेब्रालाई यस्तो कलात्मक रङ दिएको छ जसले उसलाई सिङ्गो अफ्रिकी मैदानमा बाँच्न सजिलो बनाइदिएको छ।

जेब्रा

त्यस्तै, पान्डा पनि प्रकृतिको अर्को अद्भुत नमुना हो। चीनका बर्फिला जङ्गल र ढुङ्गामय पहाडहरूमा बाँच्ने यो जनावरको काला–सेतो शरीर केवल सुन्दर देखिनका लागि मात्र होइन, त्यो उसको अस्तित्वको कवच पनि हो। जब ऊ सेतो बरफ र कालो ढुङ्गाबिच हिँड्छ, उसको शरीर त्यसैसँग मिसिन पुग्छ र सिकारीले उसलाई चिन्न सक्दैन। प्रकृतिले नै पान्डालाई लुक्न सक्ने गरी यस्तो रङ वरदान दिएको छ, जसले उसको जीवन सम्भव बनाएको छ।

पाण्डा

दक्षिण ध्रुवका पेङ्गुइनमा पनि यही चमत्कार भेटिन्छ। उसको पेट सेतो र पिठ्युँ कालो हुन्छ। जब ऊ पानीभित्र पौडिन्छ, माथिबाट हेर्दा कालो शरीर समुद्रसँग मिसिन्छ, तलबाट हेर्दा सेतो पेट आकाशसँग हराउँछ। यसरी उ आफ्नो रङको सहयोगले शत्रुबाट बाँच्न सफल हुन्छ। वैज्ञानिकहरू भन्छन्, “पेङ्गुइनको कालो भागमा रहेको मेलानिन नामक तत्त्वले त्यसलाई बलियो बनाउँछ, जसले हिउँ र चिसो हावाको असर घटाउँछ। उसले कहिले घामतिर पिठ्युँ फर्काएर शरीर तताउँछ, कहिले सेतो भागलाई अघि राखेर चिस्याउँछ।”

पेङ्गुइन

तर सबै काला–सेता रङ आत्मरक्षाका लागि मात्र होइनन्। कतिपय जनावरले यो रङ चेतावनीका रूपमा पनि प्रयोग गर्छन्। स्कंक्स भन्ने जनावर यसको उत्कृष्ट उदाहरण हो। उसको शरीरमा रहेका सेता धर्साहरूले सिकारीलाई प्रतीकात्मक सन्देश दिन्छ। उसले पुच्छर नजिकबाट तीव्र दुर्गन्धयुक्त पदार्थ निकाल्छ, जसले सिकारीलाई क्षणभरमै भाग्न बाध्य पार्छ। यो रङ उसको हतियार पनि हो र सन्देश पनि।

स्कंक्स

रिङ–टेल्ड लिम्मरको पुच्छरमा पनि काला–सेता धर्साहरू देखिन्छन् । तर त्यसको अर्थ भने फरक छ। जब तिनीहरू समूहमा हिँड्छन्, ती धाराले समूहबिच सन्देश पठाउँछन्। जसको सन्देश “म यहाँ छु, मेरो पछाडि आऊ” भन्ने हुन्छ। यसरी रङ केवल रक्षाको होइन, सम्बन्ध र संवादको माध्यम पनि बन्न सक्छ।

यी सबै उदाहरणहरूले देखाउँछन् कि प्रकृतिमा कुनै पनि रङ बिना अर्थ छैन। हरेक छायामा एउटा उद्देश्य लुकेको हुन्छ। कसैका लागि त्यो रङ जीवन रक्षाको ढाल हो, कसैका लागि छल्ने उपाय, कसैका लागि चेतावनी र कसैका लागि चिनारी। त्यसैले वैज्ञानिकहरू भन्छन्, “प्रकृतिले कहिल्यै एउटा कारणका लागि काम गर्दैन। उसले सयौँ कारणलाई मिलाएर एउटा रूप सिर्जना गर्छ।”

(बिबिसी हिन्दीबाट)