• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

मेक्सिकोमा किन सल्कियो देशव्यापी जेनजी आन्दोलन ?

काठमाडौं। नेपालमा गएको भदौ २३ र २४ गते भएको जस्तै मेक्सिकोमा पनि जेनजी आन्दोलन चर्किएको छ । मेक्सिकोको उरुआपान सहरका मेयर कार्लोस मान्जोको गोली हानी हत्या भएको केही दिनमै मेक्सिकोमा सुरू भएको राष्ट्रिय प्रदर्शन देशभर फैलिएको हो। अपराध र बढ्दो हिंसाको विरोधमा हजारौँ युवा सडकमा निस्किएपछि राजधानी मेक्सिको सिटीदेखि विभिन्न राज्यका शहरहरू आन्दोलनले तातेका छन्।

नोभेम्बर १ मा ‘डे अफ द डेड’ कार्यक्रम चलिरहेको बेला सार्वजनिक रूपमा हत्या गरिएका मेयर मान्जो अपराधविरुद्ध कडा रूपमा खडा हुने नेताका रूपमा पहिचान बनाउँदै आएका थिए। उनको हत्यापछि देशभर आक्रोश फैलिएको छ।

शनिबार र आइतबार देशभर ‘जेनेरेशन जेड‘ को ब्यानरमा युवाहरूले प्रदर्शन गरे। समाचार संस्था रोयटर्सका अनुसार मेक्सिको सिटीमा मुख छोपेका प्रदर्शनकारीहरूको सानो समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका पर्खालहरू भत्काएका छन् । स्थितिलाई नियन्त्रणमा लिन दङ्गा नियन्त्रण प्रहरीले अश्रुग्यास प्रयोग गरेपछि दुई पक्षबीच झडप भएको थियो ।

मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजका अनुसार झडपमा १०० प्रहरी अधिकारी घाइते भएका छन् जसमा ४० जनालाई अस्पताल भर्ना गर्नुपरेको छ। साथै, कम्तीमा २० नागरिक घाइते भएको, २० जनालाई पक्राउ र अन्य २० जनालाई ‘प्रशासनिक अपराध’मा नियन्त्रणमा लिइएको उनको भनाइ छ।

राजधानी मात्रै होइन, देशका अन्य शहरहरूमा पनि ठूला जुलुस निस्किएका छन्। सबैभन्दा ठूलो आक्रोश भने मान्जोको गृहक्षेत्र मिचोआकान राज्यमा देखिएको छ, जहाँ उनको हत्या भएको थियो।

केही प्रदर्शनकारीले राष्ट्रपति शेनबाम र उनको पार्टी मोरेनालाई दोषी ठहर गर्दै “मोरेना आउट!” भन्ने नारा लगाएका छन् । केहीले “कार्लोस मरेका हैनन्, सरकारले मार्‍यो!” भन्दै बलियो राज्य हस्तक्षेप र अपराध नियन्त्रणको माग गरेका छन् ।

प्रदर्शनको आह्वान गर्ने ‘जेनेरेशन जेड मेक्सिको’ नामक समूहले सामाजिक सञ्जालमा प्रकाशित आफ्नो घोषणापत्रमा आन्दोलन गैरदलीय भएको दाबी गर्दै हिंसा, भ्रष्टाचार र शक्ति दुरुपयोगबाट दिक्क भएका मेक्सिकी युवाहरूको प्रतिनिधित्व गर्ने बताएको छ। जेन-जी शब्द १९९७–२०१२ बीच जन्मिएको पुस्तालाई जनाउँछ र यस पुस्ताले विश्वका धेरै देशहरूमा सामाजिक राजनीतिक परिवर्तनका लागि आन्दोलनहरू चलाइरहेको छ।

यता, शेनबामकी सरकारले भने आन्दोलनको स्वच्छ नियतप्रति शंका प्रकट गर्दै प्रदर्शनलाई ‘दक्षिणपन्थी राजनीतिक विपक्षीहरूद्वारा हदसम्म संगठित’ र ‘सामाजिक सञ्जालमा बोटहरूद्वारा प्रवर्द्धित’ गरिएको आरोप लगाएको छ।

स्थानीय नेतृत्वको हत्या, अपराध नियन्त्रणमा सरकारी कमजोरी र युवाको बढ्दो असन्तुष्टिले मेक्सिकोमा जेन-जी आन्दोलन अझै सल्किन सक्ने विश्लेषकहरूको अनुमान छ।

(एजेन्सीहरुको सहयोगमा)