• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रुस-युक्रेन शान्ति योजना: संशोधित मस्यौदामा अमेरिकासँग सहमति भएको युक्रेनको भनाइ

रुससँगको लामो युद्ध अन्त्यका लागि तयार पारिएको शान्ति योजनामा अमेरिकासँग ‘साझा सहमति’ बनेको युक्रेनले बताएको छ। यो सहमति गत साता अमेरिकाले किएभलाई हस्तान्तरण गरेको २८ बुँदे मस्यौदामा आधारित छ।

सुरुवातमा रुसको स्वार्थतर्फ धेरै ढल्किएको भनी आलोचना खेपेको उक्त मस्यौदा, गत सप्ताहान्तमा स्विट्जरल्यान्डको जेनेभामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भएको गहन छलफलपछि संशोधन गरिएको बताइएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी शान्ति योजनामा गरिएका संशोधनहरूको स्वागत गरेका छन्। युक्रेनी अधिकारीहरूले अमेरिकाद्वारा प्रस्तुत परिष्कृत मस्यौदाले युक्रेनको अडानलाई समेटेको भन्दै शान्ति वार्तामा ‘ठूलै प्रगति’ भएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पुरानो मस्यौदालाई “दुवै पक्षले राखेका अतिरिक्त सुझावका साथ परिष्कृत गरिएको” जानकारी दिएका छन्।

उनले भनेका छन्, “मैले शान्ति योजनालाई अन्तिम रूप दिन मेरा विशेष दूत स्टिभ विट्कफलाई मस्कोमा गएर राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएको छु। सोही समयमा आर्मी सेक्रेटरी ड्यान ड्रिस्कलले युक्रेनी पक्षसँग भेट्नेछन्।”

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका चिफ अफ स्टाफले आर्मी सेक्रेटरी ड्रिस्कल यसै साता किएभ आइपुग्ने अपेक्षा गरिएको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार ड्रिस्कल र रुसी प्रतिनिधिहरूबीच सोमवार र मङ्गलवार आबु धाबीमा भेटघाट भएको थियो।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले अमेरिकाले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदाप्रति रुस सकारात्मक भए तापनि त्यसमा यदि उल्लेखनीय फेरबदल गरिएको छ भने अवस्था ‘आधारभूत रूपमै फरक’ हुन सक्ने चेतावनी दिएका छन्।

मङ्गलवार बिहानसम्म क्रेमलिनमा संशोधित मस्यौदा नपुगेको उल्लेख गर्दै लाभ्रोभले अमेरिकी शान्ति प्रयासलाई युरोपले बिथोल्न खोजिरहेको आरोपसमेत लगाएका छन्। यसअघि क्रेमलिनले नयाँ मस्यौदाबारे रुससँग परामर्श नगरिएको भन्दै एकपक्षीय संशोधन मान्य नहुने सङ्केत गरेको थियो।

नयाँ योजनामा सहमति नजिक पुगिए पनि रुस र युक्रेनबीचको चर्को मतभेदका कतिपय विषय अझै सम्बोधन भइसकेका छैनन्। विशेषगरी किएभलाई दिइने सुरक्षा ग्यारेन्टी तथा पूर्वी युक्रेनका युद्धग्रस्त इलाकाहरूको नियन्त्रणजस्ता विषय पेचिला बनेका छन्।

मङ्गलवार राष्ट्रपति जेलेन्स्कीले यस्ता ‘सम्वेदनशील विषय’मा राष्ट्रपति ट्रम्पसँग सोझै छलफल गर्न आफू तयार रहेको बताएका छन्। जेलेन्स्की प्रशासनले यो महिनाभित्रै त्यस्तो उच्चस्तरीय बैठक आयोजना गर्न चाहेको छ।

जेलेन्स्कीले भने, “थप सक्रिय सहयोगका लागि म अमेरिकी पक्ष र राष्ट्रपति ट्रम्पको साथको निम्ति उत्सुक छु। धेरै कुरा अमेरिकामा निर्भर छ किनभने रुसले सबैभन्दा बढी ध्यान दिने भनेको अमेरिकी शक्तिलाई नै हो।”

ह्वाइट हाउसले शान्ति सम्झौताको सम्भावनाबारे आशा व्यक्त गरिरहे तापनि युरोपेली नेताहरूले भने अझै शङ्का गरिरहेका छन्। करिब चार वर्ष लामो युद्धपश्चात् पनि रुसको ‘युद्धविराममा वास्तविक रुचि नदेखिएको’ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्। त्यस्तै, बेलायतले पनि शान्तिको बाटो ‘अझै लामो र कठिन’ रहेको टिप्पणी गरेको छ।

मस्कोले निरन्तर युक्रेनले पूर्वी डोनबास क्षेत्र (दोनेत्स्क र लुहान्स्क) पूरै छाड्नुपर्ने अडान राख्दै आएको छ। हाल रुसी फौजले क्राइमियाका साथै खेअरसन र जापोरिज्या क्षेत्रका ठूलो भूभाग नियन्त्रणमा लिएका छन्।