काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।
विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेका हुन् ।
बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी) ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्यहरू विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइने बताइएको छ ।
अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
यसअघि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिनालाई सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
शेख हसिना र उनका परिवारका सदस्यहरू फरार अवस्थामा रहेकाले मुद्दाहरूमा उनीहरूका तर्फबाट वकिल उपस्थित थिएनन् । तथापि, शेख हसिना र उनका निकटस्थहरूले विभिन्न भाषण र सार्वजनिक अभिव्यक्तिहरूमार्फत आफूहरू कुनै प्रकारको भ्रष्टाचारमा संलग्न नरहेको दाबी गर्दै आएका छन् ।
उता, मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएकी शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशको अन्तरिम सरकारले भारतलाई गरेको अनुरोधबारे नयाँदिल्लीले हाल अध्ययन र मूल्याङ्कन गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०२४ जुलाईमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको व्यापक विद्रोह भड्किएको थियो । निरन्तर दबाबपछि उहाँ सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारतमा शरण लिन पुगेकी थिइन् । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले हालसम्मका कानूनी तथा राजनीतिक प्रक्रियाहरू अघि बढाइरहेको छ ।
याे पनि पढ्नुहोस् ।
शेख हसिनालाई मृत्युदण्डको फैसला: भारतका लागि कूटनीतिक चुनौती
शेख हसिना मृत्युदण्ड: बंगलादेशले भारतसँग सुपुर्दगी गर्न भन्यो, मोदी सरकारको यस्तो जवाफ
मृत्युदण्डको सजायपछि हसिनाको प्रतिक्रिया: ‘राजनीतिक रूपमा प्रेरित पक्षपाती फैसला’
बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय