• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सको शैक्षिक कार्यक्रम अब अफ्रिकामा, घाना र जिम्बाब्वेका संस्थासँग साझेदारी

काठमाडौं । व्यवसायिक शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एलसीसीआई ग्लोबल क्वालिफिकेसन्स (LCCI GQ) ले अफ्रिकी मुलुकहरूमा आफ्ना शैक्षिक कार्यक्रमहरू औपचारिक रूपमा विस्तार गरेको छ। आफ्नो दीर्घकालीन रणनीतिक योजना अनुरूप एलसीसीआईले अफ्रिकाका घाना र जिम्बाब्वेका शैक्षिक संस्थाहरूसँग साझेदारी सुरु गरेको हो।

हालै काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजित “एजुकेसन विदाउट बाउन्डरिज: द पावर अफ भोकेसनल एजुकेसन” विषयक सेमिनारका क्रममा एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले घाना र जिम्बाब्वेका संस्थाहरूबीच समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

सम्झौता अनुसार एलसीसीआईले घानास्थित ‘मिनास भोकेसनल इन्स्टिच्युट’ (Mina’s Vocational Institute) सँगको सहकार्यमा हस्पिटालिटी म्यानेजमेन्ट, कुलिनरी आर्ट्स, इन्फर्मेसन टेक्नोलोजी तथा कम्प्युटिङका कार्यक्रमहरू सञ्चालन गर्नेछ।

त्यस्तै, अफ्रिका विस्तारको अर्को कदमस्वरूप जिम्बाब्वेको ‘डेलिस कुलिनरी आर्ट्स एकेडेमी’ (Delice Culinary Arts Academy) सँग सहकार्य गर्दै हस्पिटालिटी, कुलिनरी आर्ट्स, बेकिङ तथा प्रोफेसनल कुलिनरी कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। यी कार्यक्रमहरूले त्यहाँका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको पाककला र हस्पिटालिटी सीप प्रदान गर्ने बताइएको छ।

एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सका सह–संस्थापक डा. रोशन राठीले नेपालमा विकास भएका तर विश्वभर मान्यता प्राप्त पाठ्यक्रम अफ्रिकामा विस्तार हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।

डा. राठीले भने, “नेपालमा विकास भएका व्यवसायिक तालिम र पाठ्यक्रमलाई अफ्रिकामा विस्तार गर्नु हाम्रो प्रमुख उद्देश्य हो। घाना र जिम्बाब्वेमा कार्यक्रम विस्तार हुनु अफ्रिकाका युवाहरूका लागि सीपमूलक शिक्षा र करियर विकासका नयाँ अवसरहरू खुलाउने महत्वपूर्ण कदम हो।”

यी दुवै अफ्रिकी मुलुकमा सञ्चालन हुने कोर्सहरू ‘स्कटिस क्वालिफिकेसन्स अथोरिटी’ (SQA) द्वारा गुणस्तर सुनिश्चित (Quality Assured) गरिएका छन्। साथै, यी कार्यक्रमहरू युरोपियन क्वालिफिकेसन्स फ्रेमवर्क (EQF) को अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको संस्थाले जनाएको छ।

यो साझेदारीसँगै अब अफ्रिकी विद्यार्थीहरूले आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको सीप सिक्न पाउनेछन्। साथै, प्राप्त योग्यताका आधारमा विश्वभरका विश्वविद्यालयहरूमा ‘क्रेडिट ट्रान्सफर’ गरी उच्च शिक्षा हासिल गर्ने र अन्तर्राष्ट्रिय बजारमा रोजगारी पाउने बाटो समेत खुल्नेछ।