• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिकाको एक बारको अफर: अवैध आप्रवासीको सूचना दिनेलाई एक महिनासम्म नि:शुल्क बियर

काठमाडौँ । अमेरिकाको इडाहो राज्यस्थित एक बारले अवैध आप्रवासी पक्राउ गर्न मद्दत गर्नेलाई अनौठो पुरस्कारको घोषणा गरेपछि विवाद र चर्चामा आएको छ ।

इडाहोको इगल सहरमा रहेको ‘द ओल्ड स्टेट सलुन’ ले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव सार्वजनिक गरेको हो । बारले घोषणा गर्दै लेखेको छ, ‘यदि कसैले इडाहोमा रहेका अवैध आप्रवासीको पहिचान गरी उनीहरूलाई देश निकाला गराउन अमेरिकी आप्रवासन अधिकारीहरूलाई मद्दत गर्छ भने, हामी उनीहरूलाई एक महिनासम्म बारमा नि:शुल्क बियर उपलब्ध गराउनेछौँ ।’

बारको यो प्रस्तावले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ । केहीले यसलाई समर्थन गरेका छन् भने धेरैले यसलाई विभेदकारी र घृणा फैलाउने कार्य भन्दै आलोचना गरेका छन् ।

यो बार विवादमा आएको यो पहिलो पटक भने होइन । यसअघि ‘प्राइड मन्थ’ (Pride Month) को समयमा यस बारले जुन महिनालाई ‘विषमलिङ्गी जागरूकता महिना’ (Heterosexual Awesomeness Month) घोषणा गरेको थियो । त्यसबेला बारले विषमलिङ्गी (Heterosexual) पुरुष र महिलाहरूलाई मात्र विशेष छुट र नि:शुल्क बियरको अफर ल्याएर विश्वभरका सञ्चारमाध्यमको ध्यान तानेको थियो ।

अवैध आप्रवासीसम्बन्धी बारको पछिल्लो पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकी सरकारी निकायले समेत अनौठो प्रतिक्रिया जनाएको छ । अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले बारको उक्त प्रवर्द्धनात्मक पोस्टलाई ‘रिपोस्ट’ गर्दै आश्चर्य व्यक्त गर्ने एउटा ‘GIF’ राखेको छ । सरकारी निकायको यस्तो प्रतिक्रिया आएपछि बारले उत्साहपूर्वक जवाफ फर्काउँदै लेखेको छ- लौ त ! सबैलाई डिपोर्ट गरौँ ।

याे पनि पढ्नुहोस् ।

ट्रम्पको कडा घोषणा: गरिब देशका शरणार्थी रोक्ने, अमेरिकालाई माया नगर्नेलाई निकालिने