• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एभरेष्ट इन्जिनियरिङ कलेजद्धारा जर्नल सार्वजनिक

काठमाडौं । ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजले आफ्नो जर्नल ‘एभरेष्ट एडभान्स इन साइन्स एण्ड टेक्नोलोजी’ को पहिलो अंक सार्वजनिक गरेको छ । बुधबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी कलेजले जर्नल सार्वजनिक गरेको हो ।

कलेजले नेपालको शैक्षिक समुदायमा अनुसन्धान तथा प्रकाशन संस्कृतिलाई थप मजबुत बनाउनका लागि जर्नल सार्वजनिक गरिएको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले जर्नलले विद्यार्थी तथा शिक्षकहरूलाई नयाँ अनुसन्धान, नवप्रवर्तन र प्रविधिमुखी परियोजनामा संलग्न हुन निकै प्रभावकारी भूमिका खेल्ने बताए । कलेजका सीईओ अरुण कुमार भण्डारीले जर्नलले शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्ने र विद्यार्थी-शिक्षकलाई नयाँ आविष्कार र अनुसन्धानप्रति प्रेरित गर्ने बताए ।

कलेजका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले एभरेष्ट इन्जिनियरिङ कलेजले अनुसन्धान गतिविधिलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै जर्नललाई अनलाइन संस्करणमा पनि उपलब्ध गराइने बताए ।

कार्यक्रममा उत्कृष्ट अनुसन्धान गरेका शिक्षक तथा विद्यार्थीलाई ‘अवार्ड’ प्रदान गरी सम्मान समेत गरिएको छ ।

एभरेष्ट इन्जिनियरिङ कलेजले प्रकाशित गरेको यो जर्नलले नेपालमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र ज्ञान-विनिमयलाई अझ प्रभावकारी रूपमा अघि बढाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।