• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पूर्वमन्त्रीदेखि सचिवसम्म को–को तानिए पोखरा विमानस्थल काण्डमा ? (नामावलीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । यी मध्ये बोगटीको निधन भइसकेको छ ।

त्यस्तै, तत्कालीन सचिव र सह–सचिवहरुलाई पनि विपक्षी बनाइएको छ । सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

उक्त विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

समितिको उपसमितिले छिनेडाँडा कटानमा ३२ करोड २ लाख रुपैयाँ, विमानस्थलमा एसी जडानमा ७ लाख ४२ हजार ६५९ अमेरिकी डलर, नाली निर्माण र माटो खन्ने काममा १ करोड ६ लाख ४८ हजार डलर, माटो खन्ने र भर्ने काममा ४४ लाख ३५ हजार अमेरिकी डलर, बाहिरबाट ग्राभेल, माटो ल्याउनका लागि भन्दै झण्डै ५५ लाख अमेरिकी डलर, माटोको तह थप्न १६ लाख २१ हजार अमेरिकी डलर, माटोको अन्य काममा साढे २ अर्ब रुपैयाँ, अतिरिक्त खर्च २ करोड ४ लाख डलर, इन्धन ट्याङ्कीमा २ लाख २० हजार डलर, कर छुटमा २ अर्ब २० करोड रुपैयाँ, परामर्श खर्चमा २८ लाख अमेरिकी डलर अनियमितता भएको निष्कर्ष उपसमितिको थियो ।

यता, विमानस्थल निर्माणमा भएको अनियमिततामा आयोगले निर्माण सम्झौता गर्ने चीनको ‘चाइना सीएएमसी’ कम्पनीलाई पनि प्रतिवादी बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच २०१४ मा सम्झौता गरेको थियो ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दा खेपिरहेका नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी उक्त विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् । त्यस्तै अन्य विभिन्न पदमा बसेका विशिष्ट व्यक्तिहरुको पनि नाम जोडिएको र अनुसन्धान जारी रहेको अख्तियारको दाबी छ ।

यी हुन् प्रतिवादी (नामावलीसहित)