काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताको परिणाम बिस्तारै देखिँदै जाने बताएका छन् ।
बिहीबार काठमाडौँमा सम्पादकहरूसँग आयोजित अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले गत मंसिर १९ गते देउवा निवास महाराजगञ्जमा भएको डेढ घण्टा लामो भेटका नतिजाहरू क्रमशः आउने बताएका हुन् ।
‘संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा कांग्रेस सभापति देउवासँग संवाद भएको थियो’, ओलीले भने, ‘त्यसको परिणाम क्रमशः आउने छन् ।’

भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’ पछि ओली र देउवाबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको थियो । उक्त भेटको दुई दिनपछि नै मंसिर २१ गते कांग्रेस संसद् पुनःस्थापनाको मागसहित सर्वोच्च अदालत पुगेको छ, जसको सुनुवाइ पुस २ गते हुँदैछ ।
ओलीको भनाइले कांग्रेस र एमालेबीचको संवाद र पछिल्लो राजनीतिक घटनाक्रमबीच तालमेल रहेको संकेत गरेको छ ।
अध्यक्ष ओलीले अदालतको फैसला चित्त नबुझे पनि मान्दै आएको स्मरण गराए । उनले आफूहरूको मागबमोजिम अदालतबाट आदेश नआए पनि एमालेले हिंसात्मक आन्दोलन नगर्ने स्पष्ट पारे । यद्यपि, देश र प्रणाली नै बचाउनुपर्ने स्थिति आएमा भने शान्तिपूर्ण आन्दोलनमा उत्रन सकिने उनले चेतावनी दिए ।
साथै, ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिनका लागि जानुपर्ने कुनै कानुनी बाध्यता नरहेको समेत जिकिर गरे ।
याे पनि पढ्नुहोस् ।
ईश्वर पोखरेलको ‘जिद्दी’ देखेर ओली आश्चर्यचकित, भने– जाने/नजाने मेरो कुरा हो