• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा त्रिविकै पहिलो विद्यावारिधि डा. चन्दसहितका विद्यार्थी सम्मानित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले टियू अन्तर्गतको आफ्नो विभागबाट विद्यावारिधि उपाधि हासिल गर्ने पहिलो व्यक्ति डा. हरि प्रकाश चन्द र अर्का शोधार्थी बिनोद खण्ड तिम्सेनालगायतका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा आफ्नो काविलता प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो । आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्दै रेक्टर केसीले आफ्ना विद्यार्थीहरुले मेहेनतका साथ हासिल गरेको उपलव्धिप्रति गर्व लागेको बताए ।

उनले संस्थापक प्रमुख हुँदा उक्त विभागमा विद्यावारिधिको अध्ययन/अध्यापन सुरु भएको र ५ वर्ष पछि नै सो विभागले विद्यावारिधिको जनशक्ति उत्पादन गरेको हो । प्रा. केसीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागका विद्यार्थीहरुले सार्वजनिक सेवामा लगातार सफलता प्राप्त गरिरहेका, विभागमा सबै क्षेत्र, वर्गका अत्यन्तै मिहनति र अब्बल विद्यार्थीहरुले अध्ययन गरिरहेको साथै उनीहरुलाई सार्वजनिक सेवाका लागि मात्रै नभई एक आलोचनात्मक चेतयुक्त गतिशिल व्यक्तित्व निर्माणमा केन्द्रित गरिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा उपस्थित सोही विभागका विद्यावारिधिका शोधार्थी सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले प्रा. केसीकै मार्गदर्शन र सल्लाहमा आफूले विद्यावारिधी सुरु गरेको बताए ।

कार्यक्रममा सम्मानित डा. हरि प्रकाश चन्दले आफू इन्जिनियरिङ्ग पृष्ठभूमिबाट आएर निकै कठोर त्याग, तपस्या, र मेहेनतका साथ प्रा. केसीको प्राज्ञिक मार्गदर्शन, उत्प्रेरणा, र साथबाट विद्यावारिधि पूरा गरेको बताए।

सम्मानित अर्का शोधार्थी बिनोद खण्ड तिम्सेनाले गुरुकै मार्गदर्शनमा आफूले विद्यावारिधि पूरा गरेको बताए ।

साथै, नेपाल सरकारको परराष्ट्र, प्रशासन तथा कानुन अधिकृतमा सिफारिस हुन सफल स्नातकोत्तर तहका विद्यार्थीहरु मधुसुदन भट्टराई, पुजा बेल्वासे, अर्पण सापकोटा, रसिला धमला, दिव्यदिप आचार्य, मिलन विश्वकर्मा, अर्जुन लिम्बु, इजुषा राई र श्रेष्ना महतलाई पनि सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा पूर्व परराष्ट्र सचिव शंकरदास बैरागी, पूर्व परराष्ट्र सचिव तथा राजदूत ज्ञानचन्द्र आचार्य, पूर्व राजदूत डा. खगनाथ अधिकारी, पूर्व उपरथी डा. पूर्ण बहादुर सिलवाल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागका विभागीय प्रमुख अपेक्षा शाह साथै विभागका दर्शनाचार्य विद्यावारिधि कार्यक्रम संयोजक डा. रमेश चन्द्र पौडेललगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।