• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जेन–जी प्रदर्शनकारीलाई ‘हाजिरी जमानी’मा रिहा गर्न गोप्य ‘सर्कुलर’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा प्रहरी प्रधान कार्यालयले जेन–जी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न देशभरका प्रहरी कार्यालयहरूमा गोप्य ‘सर्कुलर’ जारी गरेको छ ।

गत भदौ २४ गते उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका ८७२ जनामध्ये काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न बाहेक अरूलाई छाड्न भनिएको छ । उनीहरूविरुद्ध ३९५ थान मुद्दा दर्ता भएका थिए ।

मङ्सिर २४ गते सरकार र जेन–जी अगुवाबीच भएको १० बुँदे सम्झौताको बुँदा २ अनुसार, ज्यान मार्ने वा सङ्गठित अपराधमा संलग्न नदेखिएका व्यक्तिलाई जाँचबुझ आयोगको सिफारिसपछि थुनामुक्त गर्ने उल्लेख थियो ।

यद्यपि, जाँचबुझ आयोगले छानबिन नगरी नै कसुरदारहरूलाई छाड्न सर्कुलर गरिएपछि दण्डहीनताले प्रश्रय पाउने भन्दै कतिपय प्रहरी अधिकृतहरूले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि असोज ९ मा पनि जेनजी प्रदर्शनमा सहभागी भएर उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई ‘स्क्रिनिङ’ गरेर रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि प्रहरीले पक्राउ परेकाहरूलाई हाजिर जमानीमा रिहा गरेको थियो ।