काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ। १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो कार्यकालको अन्तिम बैठक हो। भक्तपुरको सल्लाघारीमा ११औं महाधिवेशन उद्घाटन भइसकेको र बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको हो।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा महाधिवेशनको बन्दसत्रमा उठ्ने विषय र कार्यक्रमबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिएका छन्। अन्तिम बैठक भएकाले यसले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि राख्ने तयारी गरिएको छ।
यसैबीच, अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारी गरेका छन्। ओलीले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय कमिटी २५१ बाट बढाएर ३०१ पुर्याउने प्रस्ताव ल्याउन लागेको नेताहरूको भनाइ छ। आकांक्षी नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन लागिएको बताइएको छ।
तर उक्त प्रस्तावप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले असहमति जनाउँदै प्रतिवाद गर्ने तयारी गरेका छन्। यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने ओलीको प्रस्ताव फेल भएको थियो। त्यस क्रममा असहमति जनाउने नेताहरूले विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि समावेश गर्नुपर्ने माग गरेका थिए।
सचिवालय बैठकबाट प्रस्ताव पारित नभएपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाटै विधान संशोधन प्रस्ताव पारित गराउने रणनीति लिएका छन्। केन्द्रीय कमिटीमा ओली पक्षको दुईतिहाइभन्दा बढी समर्थन रहेको बताइन्छ।
उता, ११औं महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भए पनि समय पटक–पटक सरेको छ। बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजे हुँदै अन्ततः दिउँसो १ बजेका लागि सारिएको हो। बन्दसत्र ढिलाइ भए पनि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा उपस्थित भई दस्तावेज अध्ययन र छलफलमा जुटिरहेका छन्।
एमालेको ११औं महाधिवेशनमा २२६२ प्रतिनिधि सहभागी छन्।