• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ईश्वर पोखरेल पक्षको विरोधबीच एमालेको विधान संशोधन, पदाधिकारी सङ्ख्या १९

काठमाडौँ । नेकपा एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा विधान संशोधन पारित गरेको हो।

संशोधनपछि अब एमालेमा पदाधिकारीको सङ्ख्या १९ पुगेको छ। यसअघि भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १५ मा झारेको थियो। तर, अहिले फेरि अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ कायम गरिएको छ।

अब एमालेमा पदाधिकारी १९, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय रहनेछन्।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्न र ‘नवयुवा आन्दोलन’ लाई कारण देखाएर विधान संशोधनको प्रस्ताव गरेका हुन्।

यद्यपि, पुरानै विधान ब्युँताएको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई तथा नेताहरू कर्ण थापा र काशीनाथ अधिकारी लगायतले विरोध गरेका छन्।