काठमाडौँ । लामो समय दलित अभियन्ताको पहिचान बनाएका र हालै ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल खोलेर संगठन विस्तारमा हिँडेका खगेन्द्र सुनार ठगी प्रकरणमा मुछिएका छन्। राजनीतिक आवरणमा देशव्यापी दौडधुपमा रहेका सुनारले आफ्नै साथीलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको तथ्य बाहिर आएको छ।
सुनारले केही वर्षअघि दैलेखका आफ्ना एक चिनजानका व्यक्तिलाई विदेश पठाइदिने प्रलोभन देखाएर राहदानी (पासपोर्ट) र तीन लाख रुपैयाँ लिएका थिए। रकम हात पारेपछि सुनार लामो समय सम्पर्कविहीन बने। पीडितले पटक–पटक सम्पर्क गरेर पैसा र पासपोर्ट फिर्ता माग्दा पनि उनले आनाकानी गर्दै आएका थिए।
हालै सुनारले नयाँ दल खोलेर राजनीतिमा सक्रिय हुन थालेपछि पीडितले कडा कदम चाल्ने चेतावनी दिएका थिए। ‘पैसा फिर्ता नदिए पत्रकार सम्मेलन गरेर सबै वास्तविकता सार्वजनिक गरिदिन्छु’ भन्दै पीडितले दबाब दिएपछि आफ्नो नवगठित पार्टी र राजनीतिक भविष्यमा धक्का लाग्ने डरले सुनार हच्किए। पोल खुल्ने डरले उनले एक साता लगाएर पीडितको तीन लाख रुपैयाँ त फिर्ता गरे, तर विदेश पठाउने भन्दै लिएको पासपोर्ट भने ‘हरायो’ भन्दै फिर्ता गरेका छैनन्।
आफूलाई सामाजिक अभियन्ता र नेताका रूपमा चिनाउँदै हिँड्ने सुनारको विगत भने आपराधिक घटनाहरूले भरिएको छ। सामान्य ठगी मात्र होइन, उनीविरुद्ध अहिले पनि देशका विभिन्न अदालतमा गम्भीर प्रकृतिका मुद्दाहरू विचाराधीन छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र अस्पताल भवन तोडफोड गरेको अभियोगमा उनीमाथि अनुसन्धान र अभियोजन हुन बाँकी नै छ।
त्यस्तै, काभ्रे जिल्ला अदालतमा पनि उनीविरुद्ध विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गतको मुद्दा पनि बाँकी नै छ । एक महिला अधिवक्ताविरुद्ध सामाजिक सञ्जालमा अश्लील र अभद्र टिप्पणी गरेको आरोपमा उनीमाथि मुद्दा चलेको हो।
सुनारले नवराज विक प्रकरणमा सर्वोच्चमा मुद्दा लिएर आउन लागेको र त्यसमा आफूले चाहेजस्तो फैसला नभए ‘सर्वोच्च अदालतमा आगो लगाउने’ चेतावनी पनि दिएका थिए । उच्च अदालत सुर्खेतको मुद्दा सदर गर्न नहुने भन्दै सर्वोच्चलाई चेतावनी दिएका थिए ।
सुनारले पटक–पटक व्यक्तिलक्षित आरोप लगाउने र भ्रम फैलाउने कार्य गर्दै आएको भनी आलोचना हुँदै आएको छ । रुकुमपश्चिमको चौरजहारीमा भएको नवराज विकलगायतको हत्या घटनापछि सुनार सार्वजनिक चर्चामा आएका व्यक्ति हुन् ।
प्रहरी प्रशासनलाई छल्दै र अदालतको आदेशलाई समेत बेवास्ता गर्दै सुनार अहिले नयाँ दलको आवरणमा जोगिने प्रयास गरिरहेका छन्। ठगी र फौजदारी अभियोग खेपिरहेका व्यक्ति नै विधिको शासनको वकालत गर्दै राजनीतिक संगठन विस्तारमा लाग्नुलाई गम्भीर रूपमा हेरिएको छ।