काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ। महाधिवेशनबाट १९ जना पदाधिकारी निर्वाचित हुने भए पनि यसका लागि ४१ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूची अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा तोकिएको संख्याभन्दा बढीको उम्मेदवारी परेको हो।
अध्यक्षमा ओली र पोखरेलको भिडन्त
पार्टीको सर्वोच्च पद अध्यक्ष (१ जना) का लागि दुई जनाको उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
महासचिवमा शंकर र सुरेन्द्र आमने–सामने
पार्टीको कार्यकारी पद मानिने महासचिव (१ जना) का लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे गरी दुई जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा ११ जनाको दाबी
५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरू चुनावी मैदानमा छन्। उम्मेदवारी दिनेहरूमा अरूण नेपाल, गुरु प्रसाद बराल, गोकर्णराज विष्ट, टंक प्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वी सुब्बा गुरुङ, भीम प्रसाद आचार्य, रघुजी पन्त, राम बहादुर थापा (बादल), डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल रहेका छन्।
सचिवमा २० जनाको उम्मेदवारी
९ जना निर्वाचित हुने सचिव पदका लागि सबैभन्दा बढी २० जनाको उम्मेदवारी परेको छ। सचिव पदका लागि अग्नि प्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्ण बहादुर थापा, कृष्ण गोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल प्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर प्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कंडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद प्रसाद ढकाल, शेरधन राई र हिक्मत कुमार कार्की।
उपमहासचिवबाट राजेन्द्र गौतम ‘ब्याक’
३ जना निर्वाचित हुने उपमहासचिव पदका लागि सुरुमा ७ जनाको उम्मेदवारी परेको थियो। जसमा आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र प्रसाद गौतम, लेखराज भट्ट, विष्णु प्रसाद रिमाल र बैजनाथ चौधरी रहेका थिए।
यद्यपि, नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। अध्यक्ष ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार बनेपछि गौतमले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा भने उनको नाम कायमै रहनेछ।