काठमाडौँ । नेपालको खेलकुद क्षेत्र पछिल्लो समय जसरी मैदानभित्र नतिजामुखी बन्दै गएको छ, मैदानबाहिर त्यसको व्यवस्थापन र प्रवर्द्धनमा कर्पोरेट क्षेत्रको उपस्थिति पनि उत्तिकै बलियो देखिन थालेको छ। निजी क्षेत्रबाट खेलकुदमा दीर्घकालीन लगानी गर्ने संस्थाको कुरा उठ्दा एनसेलको नाम सधैँ अग्रपङ्क्तिमा आउँछ। एउटा दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा मात्र सीमित नभई एनसेलले आफूलाई नेपाली खेलकुदको भरपर्दो सारथि र ‘खेलमैत्री ब्रान्ड’ का रूपमा स्थापित गरिसकेको छ।
पछिल्ला वर्षहरूमा कम्पनीले विस्तार गरेको प्रायोजनको दायरा हेर्ने हो भने क्रिकेट, फुटबल, भलिबल, गल्फ, बास्केटबलदेखि लिएर ओझेलमा देखिएको प्यारा–एथलेटिक्ससम्म छ। यी सबै खेलमा एनसेलको दरिलो उपस्थिति देखिन्छ।
नेपालमा क्रिकेटको लोकप्रियता चुलिँदै गर्दा एनसेलले यसलाई व्यावसायिक उचाइ दिन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ नै एनसेल ‘पावर बाइ’ साझेदारको रूपमा जोडिनु यसको पछिल्लो उदाहरण हो। यसले नेपाली क्रिकेटलाई संरचनागत रूपमा व्यावसायिक मोडेलमा अघि बढाउन मद्दत मात्र गरेको छैन, फ्रेन्चाइज क्रिकेटलाई दिगो बनाउन आधार पनि प्रदान गरेको छ।
यसबाहेक, एनसेल फाउन्डेसनले एनपीएलका खेलका दौरान ब्याट्सम्यानले हान्ने चौकाहरू बापत विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गर्दै आएको छ। गत वर्षको एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६५३ चौकाबाट २ हजार ६१२ सामग्रीसहित देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरिएको थियो। यस्तै, एनपीएल सिजन २ को मंसिर १८ सम्मका खेलहरूमा हानिएका चौकाहरू बापत २ हजार भन्दा बढी शैक्षिक सामग्री वितरण सुनिश्चित भइसकेको छ। सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने यी सामग्रीहरू र यस पहलले क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने पुलको काम गरेको छ।
एनसेलको यो साथ फ्रेन्चाइज लिगमा मात्र सीमित छैन। राष्ट्रिय टोली सहभागी हुने त्रिकोणात्मक टी–२० आई सिरिज, आइसिसी लिग–२ र नेपाल–क्यानडा एक दिवसीय शृङ्खलाजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि कम्पनीले निरन्तर प्रायोजन गर्दै आएको छ। दर्शकहरूका लागि ‘फ्यान–इन्गेजमेन्ट’ कार्यक्रम, म्याच अवार्ड तथा लाइभ स्ट्रिमिङ प्याकेजहरू ल्याएर एनसेलले खेल र दर्शकबिचको दूरी घटाउने काम गरेको छ। यसले युवा खेलाडीको करिअर निर्माणमा अप्रत्यक्ष रूपमा ठूलो लगानीको काम गरेको छ।
क्रिकेटजस्तै फुटबलमा पनि एनसेलको लगानी ऐतिहासिक र रणनीतिक महत्वको छ। नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि एनसेलले गरेको सम्झौता नेपाली फुटबल इतिहासकै ठूला सम्झौतामध्ये एक हो। एनसेलले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टसँग सम्झौता गर्दै नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि ‘मुख्य प्रायोजक’ को भूमिकामा देखिइसकेको छ। फ्रेन्चाइज फुटबलमा मुख्य प्रायोजककै रूपमा निजी क्षेत्रबाट भएको यो उच्च स्तरको लगानी दुर्लभ मानिन्छ। यसबाहेक ललितपुर सिटी एफसीजस्ता टिमसँगको ‘पावर बाइ’ साझेदारी होस् वा झापा गोल्डकप र वीरगन्ज गोल्डकपजस्ता मोफसलका प्रतिष्ठित प्रतियोगिताहरूमा गरिने सहयोग, एनसेलले राष्ट्रिय लिगदेखि ग्रासरुट फुटबलसम्म आफ्नो उपस्थिति जनाएको छ।
‘हामी तपाईँकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल प्यारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ। चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल प्यारा–तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई सम्मान गर्दै एनसेलले १ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो।
जितपछि मात्र होइन, त्यसअघि पनि राष्ट्रिय प्यारालिम्पिक समितिसँगको साझेदारीमार्फत खेलाडीहरूको अन्तर्राष्ट्रिय तालिम र क्षमता विकासमा कम्पनीले निरन्तर साथ दिँदै आएको छ। निजी क्षेत्रले अक्सर ग्ल्यामर र चर्चा नहुने खेलमा लगानी गर्न हिचकिचाउने परिप्रेक्ष्यमा एनसेलले प्यारा–स्पोर्ट्सलाई मूलधारमा ल्याउन गरेको यो प्रयासले खेलकुदमा ‘समावेशिता’ को बलियो सन्देश प्रवाह गरेको छ।
यी मुख्य खेलहरू बाहेक एनसेलले नेपालको राष्ट्रिय खेल भलिबलका विभिन्न च्याम्पियनसिप, गोकर्ण गल्फ क्लबसँगको सहकार्यमा आयोजना हुने ‘एनसेल गल्फ च्याम्पियनसिप’ र युवा पुस्तालाई लक्षित गर्दै इन्टर–कलेज बास्केटबल प्रतियोगिताहरूमा पनि निरन्तर सहयोग गर्दै आएको छ। यी विविध खेलहरूमा एकसाथ देखिनुले कम्पनीलाई बहुआयामिक खेल प्रवर्द्धकका रूपमा चिनाएको छ।
नेपाली खेलकुदमा कर्पोरेट लगानीको महत्त्वबारे बोल्दै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ एनसेललाई खेलाडीको ‘मनोबल बढाउने सारथि’ मान्छन्। सन् २०१४ मा एनसेलले प्रायोजन गरेको प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै कार जितेको क्षण स्मरण गर्दै गुरुङले भने, ‘त्यो पुरस्कारले मलाई आर्थिक र सामाजिक रूपमा मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि खेलप्रति थप समर्पित हुन ऊर्जा दिएको थियो।’
गुरुङका अनुसार एनसेलले खेल क्षेत्रमा देखाएको सक्रियता अन्य कर्पोरेट हाउसका लागि पनि उदाहरण बन्नुपर्छ। ‘यदि एनसेलजस्तै अन्य ठूला व्यावसायिक घरानाहरूले खेलकुदमा लगानी बढाउने र एन्फासँग मिलेर निरन्तर प्रतियोगिताहरू आयोजना गर्ने हो भने नेपाली खेलकुदको मुहार फेरिन समय लाग्दैन’, गुरुङले भने। एनसेलले फुटबल मात्र नभई अन्य खेलमा पनि पुर्याइरहेको योगदानलाई उनी नेपाली खेल क्षेत्रको विकासको महत्त्वपूर्ण आधार मान्छन्।
क्रिकेट एसोसियसन नेपाल (क्यान)का प्रवक्ता छुम्बी लामा नेपाल प्रिमियर लिगमा एनसेलको आगमनलाई नेपाली क्रिकेटको व्यावसायिक फड्कोको रूपमा व्याख्या गर्छन्। उनी भन्छन् ‘नेपाल प्रिमियर लिग (एनपीएल) मा एनसेल ‘पावर्ड बाइ’ साझेदारका रूपमा जोडिनु नेपाली क्रिकेटका लागि गौरवको विषय हो। एनसेलजस्तो प्रतिष्ठित मल्टिनेशनल कम्पनीको आगमनले लिगको आर्थिक पाटोलाई बलियो मात्र बनाएको छैन, प्रतियोगिताको ‘भ्यालु’ र ‘स्ट्यान्डर्ड’ लाई पनि माथि उठाएको छ। व्यावसायिक र व्यवस्थापकीय दुवै हिसाबले हेर्दा यो साझेदारी हाम्रा लागि उत्कृष्ट र फलदायी सावित भएको छ। कर्पोरेट क्षेत्रको यस्तो बलियो साथले नै खेलकुदलाई दिगो बनाउँछ।
एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले स्थापनाकालदेखि नै नेपालमा खेलकुद र प्रतिभा विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। एनसेलले आफ्नो संस्थागत प्रतिबद्धता व्यक्त गर्दै भनेको छ, ‘खेल क्षेत्रका प्रतिष्ठित प्रतियोगिताहरूमा जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो। हामीले विगतदेखि नै एन्फासँगको सहकार्यमा ए डिभिजन लिग, महिला राष्ट्रिय च्याम्पियनसिप र उमेर समूहका फुटबलमा लगानी गरेका थियौँ भने सन् २०१४ मा क्रिकेटको घरेलु संरचना बलियो बनाउन ‘एनसेल नेपाल प्रिमियर लिग’ आयोजना गरेका थियौँ। खेलकुदको विकास पूर्वाधारबाट सुरु हुन्छ भन्ने मान्यताका साथ हामीले लैनचौर मैदानको पुनर्निर्माण गरेका छौँ र गत वर्षदेखि ‘सिएसआर’ अन्तर्गत राष्ट्रिय प्यारालिम्पिक समितिसँग सहकार्य गरी पारा खेलाडीहरूको तालिम र विकासमा हातेमालो गरिरहेका छौँ। खेलकुदको महत्त्वलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकासमा हामी निरन्तर प्रतिबद्ध छौँ।’
अझ महत्त्वपूर्ण कुरा त के छ भने, एनसेलले यो सहयोगलाई कुनै एक–पटकको प्रचारबाजीका रूपमा मात्र लिएको छैन। कम्पनीले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा एनसेल फाउन्डेसनमार्फत आगामी पाँच वर्षभित्र सामाजिक तथा विकासका क्षेत्रमा २० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। यसको ठूलो हिस्सा खेलकुद पूर्वाधार, प्रतिभा प्रोत्साहन र खेलाडीको क्षमता विकासमा खर्च हुने सङ्केत कम्पनीले दिएको छ। यसले के स्पष्ट पार्छ भने खेलकुदमा एनसेलको उपस्थिति अब अझ संरचित, योजनाबद्ध र दीर्घकालीन बन्नेछ।
समग्रमा, एनसेल नेपालको खेलकुद क्षेत्रमा एक जिम्मेवार र दूरदर्शी कर्पोरेट अभिभावकको रूपमा स्थापित भइसकेको छ। नेपाल सुपर लिगको मुख्य प्रायोजक बन्नु, एनपीएललाई पावर दिनु र प्यारालिम्पियनलाई सम्मान गर्नु, यी सबै गतिविधिले एनसेललाई अन्य व्यापारिक संस्थाभन्दा अझ जिम्मेवार, पृथक् र खेलप्रति समर्पित संस्थाको रूपमा उभ्याएको छ। सरकारी स्रोतसाधनको अभाव भइरहेको अवस्थामा निजी क्षेत्र कसरी खेलकुदको मेरुदण्ड बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण एनसेलले प्रस्तुत गरिरहेको छ । यसबाट नेपाली खेलाडीलाई ऊर्जा थपिएको छ भने नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा प्रभावकारी योगदान पुगिरहेको छ।