काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन मतदान प्रक्रिया सुरु भएको छ । मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् ।
मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।

प्रतिनिधिहरूले मतदान प्रक्रिया भोटिङ मेसिनमार्फत भइरहेको जानकारी दिएका छन्। प्राविधिक कारणले हिजो हुनुपर्ने मतदान आज सारिएको भए पनि अहिले प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ। यदि कसैले भोट हाल्न नजानेको अवस्थामा सिकाउने र सहयोग गर्ने व्यवस्था गरिएको पनि प्रतिनिधिहरूले बताए।

प्रतिनिधिहरूले चुनावी प्रक्रियाबाट जुन नेतृत्व आए पनि स्वीकार्य हुने स्पष्ट पारे। लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचित नेतृत्वलाई सबैले साथ, सहयोग र समर्थन गर्नुपर्नेमा उनीहरूको जोड थियो।




