• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चियामाथि आइपरेको संकट !

के चियाको भविष्य खतरामा छ ? जलवायु परिवर्तनको असरदेखि नेपालको सन्दर्भसम्म

नेपाल, भारतलगायत दक्षिण एसियाली देशहरूमा साथीभाइ र परिवारसँगको कुराकानीमा ‘चिया’ एक अभिन्न हिस्सा हो। बिहानीको सुरुवात होस् वा दिउँसोको थकान मेटाउन, चियाको चुस्की बिना दिन अधुरो जस्तै लाग्छ।

पछिल्लो समय विश्वभर जापानी चिया ‘माचा’ को लोकप्रियता बढ्दै गएको छ। तर, चियाको यो विश्वव्यापी लोकप्रियताका बीच एउटा गम्भीर चिन्ता थपिएको छ– जलवायु परिवर्तन। विश्वका लगभग सबै चिया उत्पादक देशका किसानहरू अहिले जलवायु परिवर्तनको चुनौतीसँग जुधिरहेका छन्।

के साँच्चै विश्वमा चिया उद्योगमाथि संकटको बादल मडारिरहेको छ त?

चियाको ऐतिहासिक यात्रा

अमेरिकास्थित ‘ग्लोबल टी इन्स्टिच्युट फर द स्टडी अफ टी कल्चर’ की संस्थापक निर्देशक क्याथरिन बर्नेटका अनुसार चिया अहिले विश्वव्यापी संस्कृतिको हिस्सा बनेको छ। पानीपछि विश्वमा सबैभन्दा बढी पिइने पेय पदार्थ चिया नै हो।

चियाको इतिहास शताब्दीयौं पहिले चीनबाट सुरु भएको थियो। चौधौँ शताब्दीमा मिङ राजवंशको शासनकालमा चिया पिउने शैलीमा परिवर्तन आयो र यसलाई पाउडरको साटो पातलाई उमालेर पिउन थालियो। १७ औं शताब्दीसम्म आइपुग्दा चियाको स्वाद एसिया हुँदै युरोपसम्म पुग्यो। सुरुमा पोर्चुगिज र डच व्यापारीहरूले र पछि बेलायतले यसको व्यापार बढाए।

चीनसँगको व्यापार सन्तुलन मिलाउन र चियामाथिको चिनियाँ एकाधिकार तोड्न बेलायतले १९ औं शताब्दीको मध्यतिर भारतमा चिया खेती सुरु गरायो, जुन पछि अफ्रिकालगायत अन्य देशहरूमा विस्तार भयो।

कसरी बन्छ चिया?

क्यानडास्थित इन्टरनेसनल इन्स्टिच्युट फर द सस्टेनेबल डेभलपमेन्टकी क्रिस्टिना लारियाका अनुसार विश्वमा विभिन्न प्रकारका चिया उत्पादन हुन्छन्– जस्तै कालो चिया (Black Tea), हरियो चिया (Green Tea), सेतो चिया (White Tea) आदि। यी सबै एउटै बोटबाट बन्छन्, फरक केवल प्रशोधन प्रक्रियामा हुन्छ।

ह्वाइट टी: यसलाई कम प्रशोधन गरिन्छ, जसमा एन्टी–अक्सिडेन्ट बढी हुन्छ।

ग्रिन टी: यसका पातहरूलाई अक्सिडाइज गरिँदैन।

ब्ल्याक टी: यो पूर्ण रूपमा अक्सिडाइज गरिएको हुन्छ। यसैमा अन्य स्वाद मिसाएर ‘हर्बल टी’ वा ‘फ्लोरल टी’ बनाइन्छ।

जलवायु परिवर्तनको मार र नेपालको सन्दर्भ

जलवायु परिवर्तनको असर भारतको आसाम, दार्जिलिङदेखि अफ्रिकाको केन्या र नेपालको इलाम, झापा लगायतका जिल्लाहरूमा पनि देखिन थालेको छ।

भारतको आसाममा बाढी, पहिरो र तापक्रम वृद्धिले चिया बगानमा गम्भीर असर पारेको छ। माटोको गुणस्तर खस्किँदै गएको छ भने बोटहरूमा रोगको प्रकोप बढेको छ। ठीक यही समस्या नेपालको चिया क्षेत्रमा पनि देखिन्छ।

नेपालमा चिया संस्कृति र चुनौती:

नेपालमा १९२० को दशकमा इलामबाट चिया खेती सुरु भएको मानिन्छ। नेपालको पूर्वी पहाडी जिल्लाहरू (इलाम, पाँचथर, धनकुटा) को हावापानी भारतको दार्जिलिङसँग मिल्दोजुल्दो छ, जसका कारण यहाँ उत्पादित ‘अर्थोडक्स चिया’ विश्व बजारमा उच्च गुणस्तरको मानिन्छ। झापामा भने ‘सीटीसी’ (कडा स्वादको) चिया बढी उत्पादन हुन्छ।

तर, जलवायु परिवर्तनका कारण नेपालमा पनि मनसुनको अनिश्चितता बढेको छ। कहिले लामो खडेरी त कहिले भारी वर्षाले चियाका मुना पलाउने समय र गुणस्तरमा असर पारेको छ। “फर्स्ट फ्लस” (पहिलो टिपाइ) को चिया सबैभन्दा महँगो हुन्छ, तर मौसमको फेरबदलले यसको उत्पादन घट्न थालेको नेपाली किसानहरूको गुनासो छ।

किसानको हातमा न्यून प्रतिफल

विश्वभर करिब १ करोड ३० लाख मानिस चिया उद्योगमा आवद्ध छन्, जसमा धेरैजसो महिला श्रमिक छन्। क्रिस्टिना लारियाका अनुसार चियाको ठूलो हिस्सा (७५ प्रतिशत) लिलामी (Auction) मार्फत बिक्री हुन्छ।

यसको अर्थ, चियाको अन्तिम मूल्यमा किसानको भूमिका नगण्य हुन्छ। नाफाको ठूलो हिस्सा प्रशोधनकर्ता र बिक्रेता कम्पनीहरूले लैजान्छन्। नेपालमा पनि साना किसानहरूले हरियो पत्तीको उचित मूल्य नपाउने समस्या वर्षौंदेखि विद्यमान छ।

समाधानका उपाय र प्रविधि

जलवायु परिवर्तनसँग जुध्न केही देशले नयाँ उपाय अपनाउन थालेका छन्।

केन्यामा ड्रोनको प्रयोग गरेर बगानको निगरानी गरिन्छ। कुन क्षेत्रमा कीरा लागेको छ वा चिस्यान कम छ भनेर प्रविधिमार्फत पत्ता लगाइन्छ।

ठाउँ सर्दै खेती: बढ्दो तापक्रमका कारण किसानहरू चिया खेतीका लागि अझ उच्च पहाडी भेगतिर सर्दैछन्। पहिले चिया नफल्ने भनिएका बेलायतका केही स्थानमा समेत अब चिया खेतीको परीक्षण हुन थालेको छ।

–बिबिसी हिन्दीको समाचारमा आधारित