• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अष्ट्रेलियामा १५ जनाको ज्यान लिने आक्रमणकारी भारतीय नागरिक, हैदरावादबाट गएका थिए

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा १५ जनाको ज्यान जाने गरी भएको भयानक गोलीकाण्डका मुख्य योजनाकार र आक्रमणकारी भारतीय नागरिक भएको पुष्टि भएको छ।

यहुदीहरूको पर्व ‘हनुक्का’ मनाइरहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली बर्साउने व्यक्ति भारतको तेलंगना राज्यस्थित हैदरावादका ५० वर्षीय साजिद अक्रम हुन्। यो आक्रमण अष्ट्रेलियाको पछिल्लो तीन दशककै सबैभन्दा ठूलो ‘मास सुटिङ’ हो।

साजिदको जरो भारतको हैदरावादसँग जोडिएको छ। उनले हैदरावादबाटै बी.कम. सम्मको अध्ययन पूरा गरेका थिए। सन् १९९८ को नोभेम्बरमा रोजगारीको खोजी गर्दै विद्यार्थी भिसामा उनी अष्ट्रेलिया पुगेका थिए।

अष्ट्रेलियामा लामो समय बसेर त्यहीँकी युरोपेली मूलकी महिलासँग विवाह गरी स्थायी बसोबास गरे पनि साजिदसँग अझै पनि भारतीय पासपोर्ट नै रहेको खुलेको छ।

उनी पछिल्लो २७ वर्षमा ६ पटक भारत पुगेका थिए। ‘इन्डियन एक्सप्रेस’ का अनुसार साजिद अन्तिम पटक सन् २०२२ मा भारत गएका थिए। यद्यपि, इसाई महिलासँग विवाह गरेको भन्दै भारतमा रहेको उनको परिवारले भने उनीसँग सम्बन्ध तोडिसकेको दाबी गरेको छ।

बाबु–छोराको संलग्नता र आईएस कनेक्सन

भारतीय नागरिक साजिदले आफ्ना २४ वर्षीय अष्ट्रेलियाली नागरिक छोरा नाविद अक्रमलाई पनि यस अपराधमा सामेल गराएका थिए। प्रहरीको जवाफी कारबाहीमा मुख्य आक्रमणकारी साजिदको मृत्यु भएको छ भने उनका छोरा घाइते अवस्थामा पक्राउ परेका छन्।

यी बाबु-छोराको गाडीबाट प्रहरीले इस्लामिक स्टेट (आईएस) का दुईवटा झण्डाहरू बरामद गरेको छ। आक्रमणको करिब एक महिनाअघि १ नोभेम्बरमा साजिदले भारतीय पासपोर्ट प्रयोग गरेर छोरासहित फिलिपिन्सको भ्रमण गरेका थिए। उनीहरू इस्लामिक अतिवादीहरूको गढ मानिने ‘दावो’ शहरमा पुगेर आक्रमणको तयारी गरेको आशंका गरिएको छ।

यस घटनामा १५ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका छन् ।

यो पनि पढ्नुहोस् ।

अस्ट्रेलिया गोलीकाण्ड : आक्रमणकारी बाबु–छोरा भएको पुष्टि